२०८३ असार १९ , शुक्रबार

एउटा युग बनेर विदा भए खड्का



सुर्खेत । देश अस्पताल सुर्खेतका निर्देशक डम्मर खड्का अनिवार्य अवकाशवाट सरकारी जागिरलाई विदा गरेका छन् । वीरेन्द्रनगर सुर्खेत स्थायी घर भएका खड्का गुनेचुनेका चिकित्सक हुन ।

प्रदेश अस्पताल वामे सर्दै गर्दा सुर्खेत आएका खड्कालाई अस्पतालमात्रै नभई आफ्ना सहोदर भाइ विष्णु खड्काले चलाईरहेको माया नर्सिङ होमले भोगिरहेको डाक्टरको खडेरी कम गर्नुपनि थियो । काठमाडौंमा स्थापित चिकित्सक भएपनि खड्काले आफ्नो गृहजिल्ला सुर्खेत रोज्नुको धेरै कारणहरुमध्ये यो पनि एउटा कारण थियोे । आफ्ना सहोदर दाजु पूर्णबहादुर खड्काको राजनीतिक पहुँच र शक्तिको अनुचित प्रयोग गरेर सुर्खेत आएको आरोप लागेपनि उनी सुर्खेत आउनुको औंचित्य पुष्टि गरेरै छाडे ।

उनको कार्यकालमा संरचनाको हिसाबले मध्यपश्चिम अस्पतालले निक्कै फड्को मार्याे । ठूलाठूला भीमकाय भवनहरु, उच्चस्तरका स्वास्थ्यसम्वन्धी उपकरणहरु र आधुनिक उपचार पद्धतिको सुरुवात पनि खड्काकै कार्यकालमा भयो । बन्जर कालागाउँ हरियाली र प्रदेशकै सुविधासम्पन्न ठाउँमा विकसित भयो । अस्पताल परिसरमा बनेको सुन्दर बाटिकाले कुनै राम्रो पार्कको झझल्को मेट्न खोज्यो । अस्पतालमा मुटु, मृगौला, कलेजो र अन्य दीर्घ र जटिल प्रकारका रोगहरुको उपचार सुरु भयो ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल हुँदै प्रदेश अस्पतालमा रुपान्तरण भएको अस्पतालले धेरै आरोह र अवरोहहरु पनि व्यहोर्नुपर्याे । जुनसुकै सरकार आएपनि खड्कालाई निर्देशक पदबाट हटाउन सकेनन् या चाहेनन् । उनका दाइको शक्ति र उनको आफ्नो कामप्रतिको डेडिकेशनले पनि उनी अस्पतालको सर्वोच्च पदमा कायम रहिरहे ।

पटकपटक हटाउने कोशिस भयो । तर, खड्काको कामप्रतिको लगावले उनलाई हटाउन खोज्नेहरु पछि हटे । श्रीमती वितेको १३ दिनपछि उनी अस्पतालको नियमित काममा फर्केर जिम्मेवारी र जवाफदेहीताको उन्नत उदाहरण पेश गरे । परिवारमा परेको असामान्य बज्रपात भन्दापनि अस्पतालको कााम खड्काका लागि महत्त्वपूर्ण बन्यो । खड्काले धेरै राम्रा काम गरेपनि विवादको छाँयाले उनलाई छाडेन ।

राम्रा स्थानीय चिकित्सकहरुलाई नसमेटेको, उनीहरूलाई प्रदेश अस्पतालवाट खेदेको उनी माथि आरोप लागि रह्यो । उनका आफ्नैहरु डाक्टर नवराज केसी, रुपक कँडेलहरुसंग उनको सम्बन्ध राम्रो रहेन । अस्पताल प्रशासन निक्कै कडा रह्यो । गुटखा खाएर कुन चाहिँ कर्मचारीले अस्पताल परिसरमा थुक्यो भन्नेसम्मको चेक गर्ने अनि त्यसलाई कार्वाही विषय बनाउनेसम्मको कडा नीति खड्काको थियो ।

उनकै देखासिकी गरेर अस्पतालमा कार्यरत परिचरले पनि बिरामी र कुरुवाहरुलाई त्यही व्यवहार देखाउने गरेको आलोचकहरुले आरोप लगाउछन । अस्पतालमा आएका बिरामीहरुले राम्रो उपचार नपाएको, अकालमा मृत्युवरण गर्नुपरेको जस्ता “अबगाल“ उनको कार्यकाल भरी लागिरह्यो ।

जे होस डाक्टर डम्मर खड्काले एक युग नायकको भूमिका निभाएर प्रदेश अस्पताल सुर्खेतवाट विदा लिएका छन् । अस्पताल प्रशासन संचालनमा केही कमजोरी रहेपनि उनको समग्र कार्यकाल अरुका लागि पनि दृष्टान्त बन्न सक्नेछ ।

प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार