
सुर्खेत । पशु विकास कार्यदलले गुर्भाकोट नगरपालिका-१, राम्रीकाँडाका बाख्रा पालक किसानहरूले गरिरहेको कामहरूबारे जानकारी लिएको छ। शुक्रवार भएको अनुगमनपछि कार्यदलले किसानहरूसँग विभिन्न विषयमा जानकारी लिएको छ। कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिका–१ का अध्यक्ष रामबहादुर शाहीले बाख्रा पालन कार्यक्रमले स्थानीय स्तरमा ठुलो प्रभाव छाड्ने भएकोले समूहमा आबद्ध किसानहरूलाई सक्रियतापूर्वक लाग्न अनुरोध गरे।
उनले बाख्रा पालन कार्यक्रमका लागि आफ्नो वडा छनौट गरिदिएकोमा निर्देशनालयलाई धन्यवाद दिए। समूहका सदस्यहरूलाई व्यावसायिक बन्न सुझाव दिँदै माघ २१ सम्ममा सम्पूर्ण काम सकिसक्न उनले सुझाव दिए। किसानहरूले निर्माण गर्दै गरेका खोरहरूको अनुगमन गर्दै पशुपन्छी विकास निर्देशनालयका निर्देशक एवम् कार्यदलका संयोजक कृष्णप्रसाद पंगेनीले सम्झौताबमोजिमका कामहरू समयमै सम्पन्न गर्नुपर्ने निर्देशन गरे।
उनले सुर्खेत जिल्लाकै नमुना बाख्रा उत्पादन विशेष कार्यक्रम बनाउने निर्देशनालयले आशा गरेको बताए। बाख्रा खरिद गर्दा बढी उत्पादन दिने खालका छनौट गर्नुपर्ने बताए। अनुगमनपछि सिद्धचुली कृषक समूह राम्रीकाँडाका अध्यक्ष भूपेन्द्र कुमार गैरेको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णयहरू गरेको छ। अध्यक्ष शाहीले किसानहरू व्यवसायी बन्न खोजेको बताउँदै प्राप्त सहयोगको लागि धन्यवाद दिए।
शाहीले सबै खोर निर्माण सम्पन्न हुन समय लाग्ने भएकोले आगामी माघ २१ गतेसम्म खोर निर्माण लगायतका कामहरू सम्पन्न हुने जानकारी दिए। कार्यदलका सदस्यहरू वसन्तबाबु श्रेष्ठ (डिभिजन बन कार्यालय), जलन पुन (प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेत), महेशकुमार विष्ट (कृषि विकास निर्देशनालय) चिन्तामणि शर्मा, मोहन गिरी, कृष्णप्रसाद चपाई र प्रकाश पाठकले किसानहरूले निर्माण गरेका खोरहरूको अनुगमन गरेका थिए।
समूहमा आबद्ध २८ जना किसानहरूलाई ३२ लाख रकम निर्देशनालयले दिने र खोर टाट्नो निर्माण र मर्मत, बिमा र होर्डिङ बोर्ड उक्त समूहले गर्ने गरी सम्झौता गरिएको छ। बाख्रा विशेष उत्पादन क्षेत्र कार्यक्रमबाट खोर निर्माण र घाँसपात समूहका सदस्यहरूले व्यहोर्ने छन् भने बाख्रा र बोका निर्देशनालयको तर्फबाट व्यहोर्ने गरी सम्झौता भएको छ। सम्झौता बमोजिम १ सय ६८ वटा बाख्रा २५ लाख २० हजार र २८ वटा बोका ६ लाख ८० हजारमा गरी वितरण गरिनेछ।
