२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगर मेयरको स्टनबाजी : डोजर चल्यो तर बनेन पार्किङ !



कुलेन्द्र शाही, सुर्खेत । गत २०८० फागुन ३० गते वीरेन्द्रनगर नगरपालिकाले हटिया लाइन र हङकङ बजार क्षेत्रका संरचनाहरूमा डोजर चलाउँदै नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गरायो । नगरपालिकाले सार्वजनिक सूचना निकालेर माघ १७ गते भित्र उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि नगरपालिका आफैले डोजर चलाएर संरचनाहरू भत्काएको थियो ।

याे हेर्नुहाेस् – संरचना भत्काउन आएको नगरपालिकाको डोजरमा ढुङ्गा मुढा, तीन जना घाइते

नगरपालिकाले वीरेन्द्रनगर–६ को हङकङ बजार, हटिया लाइन र गोदाम लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदै व्यापारीको कुरा नसुनेर जबरजस्त डोजर चलायो । नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने डोजरमाथि ढुङ्गा मुढा प्रहार गरेका थिए । ढुङ्गा मुढा प्रहारबाट नगरपालिकाको डोजरको सिसा समेत फुटेको थियो भने नगरपालिकाका तीन जना कर्मचारी सामान्य घाइते भएका थिए ।

यसरी विवाद हुँदै संरचना भत्काएको उक्त ठाउँमा करिब १ वर्ष बढी भइसक्दा पनि शून्य अवस्थामा छ । जुन प्रयोजनका लागि खाली गराइएको हो उक्त कामको अवस्था अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । नगरपालिका प्रमुख मोहनमाया ढकालको स्टनबाजीमा संरचना भत्किएको धेरैको ओरोप छ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा चुनाब जितेर उपप्रमुख बनेकी सुनिता डंगालले स्टनबाजीले देश बन्दैन भनेको कुराको चर्चा भइरहँदा यता वीरेन्द्रनगरमा एमालेबाटै नगरप्रमुख बनेकी ढकाल भने स्टनबाजीमै व्यस्त छन् ।

उनकै स्टनमा भत्किएका संरचनाहरु करिब एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पार्किङ निर्माणको काम भने जस्ताको त्यस्तै छ । खाली गराइएको जग्गा अहिले प्रयोगविहीन बनेको छ । नगरपालिकाले पार्किङ स्थल निर्माणका लागि तत्काल हटाउनुपर्ने भन्दै बल प्रयोग गरेर हटाए पनि अहिले न त पार्किङ निर्माण भएको छ न त वैकल्पिक व्यवस्थापन गरिएको छ । बसपार्कमा फेन्सी पसल सञ्चालन गरिरहेका नारायण श्रेष्ठले हटाउने नगरपालिकाले व्यापारीलाई हटाउने बेलामा हतार गरेको तर पार्किङ बनाउनमा कुनै पनि चासो नदेखाएको बताए ।

उनले पार्किङ स्थल बनाउने भएमा नगरपालिकाले चाँडो काम सुरु गर्नुपर्ने नत्र पुनः व्यापारीलाई नै भाडामा दिनुपर्ने बताए । ‘नगरपालिकाले सम्झौता मिति नसकिँदै भत्कायो तर अहिलेसम्म पनि काम सुरु भएन,’ उनले खबरदृष्टिसँग भने, ‘काम गर्ने भए समयमै गर्नुप¥यो नत्र हामी व्यापारीलाई भाडामा दिनुप¥यो हामी भाडामा लिएर व्यापार गर्न तयार छौ सम्झौता भने ८–१० वर्षको हुनुपर्छ ।,’ उनले संरचना भत्काउने बेलामा व्यापारीलाई भोलिदेखि नै काम सुरु हुने बताएको तर अहिले उक्त कार्य अलपत्र परेको बताए ।

आफूहरूमाथि नगरपालिका र सुर्खेत उद्योग वाणिज्य सङ्घले ज्यादती गरेको आरोप लगाए । यस्तै अर्का व्यापारी एलपी पाण्डेले पनि नगरपालिकाले आफूहरूलाई त्यहाँबाट हटाएर अन्याय गरेको बताए । ‘हामीलाई हटायो ठिकै थियो तर अहिलेसम्म कुनै पनि काम सुरु भएन । त्यो देख्दा निकै दुःख लाग्छ,’ उनले भने, ‘हामी यहाँ आएदेखि पहिले जस्तो व्यापार पनि हुन सकेन ।,’

हङ्कङ, गोदाम लाइन र हटिया लाइनमा करिब १२५ जना व्यवसायीहरूले व्यापार गरिरहेको थिए । यस्तै सुर्खेत उद्योग वाणिज्य सङ्घ सुर्खेतका निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले नगरपालिकाले पार्किङ स्थल बनाउनमा विभिन्न बहानाबाजी गरेको बताए । उनले आफूहरूले बारम्बार ताकेता गर्दा पनि चासो नदेखाएको बताए । ‘व्यवसाय गरिरहेका व्यापारीहरूलाई हटाएर पार्किङ स्थल बनाउँछौ भन्नुभयो, तर धेरै पटक के बनाउने हो छिट्टै काम सुरु गरौँ भन्यौ, नगरपालिकाले बजेट लगायतका विभिन्न बहाना देखाउँदै पन्छियो,’

उनले भने, ‘अहिलेसम्म पनि काम सुरु हुन सकेको छैन नगरपालिकाले जुन प्रयोजन बनाउने योजना बनाएको छ त्यो छिट्टै सुरु गर्नुपर्छ ।,’ यता, नगर प्रमुख ढकालले पार्किङ स्थल बनाउने कार्य अगाडि बढिरहेको बताइन् । उनले हङ्कङ बजारमा टेण्डर खुलाएर पार्किङ स्थल बनाउने काम भइरहेको र अन्य ठाउँका लागि टेण्डरको प्रक्रियामा जाने तयारी भएको बताइन् ।

‘हङ्कङ बजारमा काम भइरहेको छ,’ उनले खबरदृष्टिसँग भनिन्, ‘अन्य ठाउँका लागि पनि अब छिट्टै टेण्डर खुलाउने काम हुनेछ ।,’ उनले निर्माण प्रक्रिया भने ढिलाइ हुनुमा प्रशासनिक जटिलता र बजेट अभाव मुख्य कारण भएको दाबी गरिन् ।

प्रकाशित मिति : २०८२ वैशाख १६ गते मंगलबार