
सुर्खेत जिल्लाकाे चिङ्गाड गाउँपालिका, मटेलामा प्रचण्डलाई जुत्ताको माला लगाउन लागेकाे अभियाेगमा पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ। मंगलबार साँझ पक्राउ परेका युवकलाई आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका कमल खत्रीलाई बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरिएको छ। अमानवीय व्यवहार गरेको भन्दै ती युवकलाई मटेला प्रहरीले नियन्त्रणमा लिएर मंगलबार ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखेकाे थियो।
अमानवीय व्यवहार गरेपछि पक्राउ परेका उक्त युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार बिहान ल्याइएको छ,” जिल्ला प्रहरी कार्यालय सुर्खेतले भन्याे।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले अस्वभाविक गतिविधि गरेकोले उनलाई पक्राउ गरिएको बताए। तर अघिल्लो दिन प्रहरी स्राेतले नै कार्यक्रमस्थल सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगाउन ल्याएकाे जुत्ताकाे माला झाेलाबाट निकाल्न खाेजेपछि नियन्त्रणमा लिएकाे बताएकाे थियाे ।
प्रहरीले तथ्य लुकाउन खोजेपनि ‘प्रचण्ड’लाई जुत्ताको माला लगाउने उद्देश्यले कार्यक्रमस्थलमै रहेका ति युवा पूर्व माओवादी लडाकु रहेकाे खुलेकाे छ। नेकपा माओवादी पार्टीका पछिल्ला गतिविधि प्रती उनमा तीब्र असन्तुष्टि रहेको उनको पारिवारिक श्राेतले जानकारी दिएकाे छ।
पक्राउ परेका खत्रीकी हजुरआमा १ सय वर्षकी भैसक्दा पनि माओवादी पार्टीका हरेक कार्यक्रममा सहभागी हुने गरेकी छिन। खत्रीका बुवा चिंगाड क्षेत्रका सकृय माओवादी कार्यकर्ता हुन।
उनका मामा “अटुट” (पार्टीकाे नाम) लाई नेपाली सेनाले शान्तिवार्ता भैरहेको समयमा सुर्खेतको दशरथपुर नजिक गाेली हानेर हत्या गरेको थियोे। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष एवम् गठवन्धनवाट सुर्खेत १ (ख) का उम्मेदवार बनेका कृष्णबहादुर जिसी (जितेन्द्र) संगै माओवादीका पूर्णकालीन कार्यकर्ता बनेका “अटुट”लाई सेना घेरा हालेर मारेको थियाे।
सहिद परिवारकाे सदस्य भएपनि पार्टीले सम्वाेधन नगरेको र राष्ट्रिय राजनीतिमा पार्टीले लिएको नीति गलत रहेको भन्ने गरेको खत्री निकट एक आफन्तले खुलासा गरे।