
सुर्खेत । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिका– २ ठेहे जाँदै गरेको बा।२१ च ७३५३ नम्बरको बोलेरो जिप सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा सिमकोट गाउँपालिका– २ वडाध्यक्ष देवजग बोहोरा र वडा नम्बर ३ वडाध्यक्ष पामा लामासहित नौजना घाइते भएको जिल्ला अस्पताल हुम्लाकी अनमी सरिता बोहोराले जानकारी दिइन् ।
यस्तै अन्य घाइते हुनेमा सिमकोट गाउँपालिका– २ का ध्रुवबहादुर शाही, मालती भण्डारी, योजना ऐडी, मुटुब लामा, बासबहादुर भण्डारी, गाडीचालक, बालक सन्देश भण्डारी रहेका छन् ।
उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भएपछि जिल्लाबाहिर लैजानका लागि हेलिकोप्टरको तयारी भइरहेको गाउँपालिका अध्यक्ष विजय भण्डारीले जानकारी दिए । जिप सडकभन्दा दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।