२०८३ वैशाख १३ , आइतबार

कर्णाली प्रदेशको राजधानीमै छैनन् अपाङ्गमैत्री सडक



सुर्खेत । कर्णाली प्रदेशको राजधानीको सडक कर्णालीका अन्य जिल्लाका भन्दा चिल्ला र फराकिला छन् । तर सडक फराकिलो पार्दा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई भने खासै ध्यान दिइएको पाइँदैन । अर्बौँ अरब खर्च गरी बनाइएका फराकिला सडकमा अपाङ्गमैत्री समेत बनाइएको छैन् । नेपालको संविधानले सबैको हक अधिकार सुनिश्चित गरेको छ ।

 

अपाङ्गता भएका व्यक्तिको सवालमा सरकारले संविधानको भावना बमोजिम अपाङ्गमैत्री सडक, अपाङ्गमैत्री भवन र अपाङ्गमैत्री कार्यस्थलको व्यवस्था गर्ने भनेको छ । राजधानीमा बनेका फराकिला र चिल्ला काला सडक हेरौँ या अन्य साना र ग्राभेलिङ सडक । खासै अपाङ्गमैत्री ढङ्गले बनेको पाइँदैन । यसरी अपाङ्गतामैत्री सडक नबन्दा हिड्डुल गर्न असहज भएको नागरिकहरू बताउँछन् ।

 

वीरेन्द्रनगरका धर्मराज रावलले भने, ‘हामी अपाङ्गता भएका व्यक्तिका लागि सडकमा लड्ने, खाल्डोमा खस्ने, चोटपटक लाग्ने कुरा त सामान्य भइसक्यो, म दैनिकजसो बजार निस्किन्छु । तर वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रकै दायाँ–बायाँ सडकमा मेरो तीन पाङ्ग्रे स्कुटर सजिलै चढ्दैन’ अपाङ्गता व्यक्ति रावलले स्कुटर त धकेल्नुपर्छ भने अन्य ह्वीलचिअर प्रयोग गर्ने साथीहरूको हालत के होला रु यी सडकमा ह्वीलचिअर सिधै पल्टिन्छन् ।’

 

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर मंगलगढी–गणेशचोक मुख्य सडकमा दायाँ–बायाँ जाने सडक अपाङ्गमैत्री छैनन् । मुख्य सडक भन्दा अग्लो तहमा रहेका दायाँ–बायाँका सबै साइड सडकमा अपाङ्गता भएका व्यक्तिलाई हिँडेरै जान समेत मुस्किल छ ।  यो सडकमात्र हैन वीरेन्द्रनगरका कुनै पनि सडक अपाङ्गमैत्री छैनन् ।

 

अप्ठ्यारो खालको सडक संरचना र सडकका खाल्डाखुल्डीले अपाङ्गता नभएका व्यक्तिलाई समेत यात्रामा सकस छ ।’ सडक व्यवस्थित बनाउन पटक पटक ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायले सुनुवाइ नगरेको रावलको दुखेको छ । पहुँचयुक्त भौतिक पूर्वाधार विकासमा अनविज्ञ बन्ने सरकार, समाज र अमैत्रीपूर्ण संरचनाले आफूलाई अपहेलित महसुस हुने गरेको वीरेन्द्रनगरका तुलसी बुढाक्षेत्रीको भनाइ छ ।

 

सडकमा सहज यात्रासमेत गर्न नसकेको उनको गुनासो छ । ‘हामीजस्ता अल्पदृष्टि भएका व्यक्तिलाई खासै सम्बोधन गरिँदैन । सडक छेउको व्यक्तिले पनि सहयोग गर्दैनन् जुम्ला तातोपानीकी रामलक्ष्मी जैशीले भने, ‘हामीसँग सेतो छडी हुँदैन, परको दृश्य, साइनबोर्ड, ट्राफिक लाइट, जेब्राक्रसिङ देखिँदैन । सहयोग माग्दा उल्टै कराएर तर्किएर हिँड्छन् । त्यसैमा झन् सडक संरचना पनि बाधक बनेका छन् ।’

 

उनीहरुजस्ता हजारौँले सडकमा यात्रा गर्दा पाइला–पाइलामा असुरक्षित महसुस गर्न बाध्य छन् । सडकमा सुरक्षित यात्रा गर्न अन्य व्यक्तिको सहयोग लिनैपर्ने नियति सडकको अव्यवस्थापनले निम्ताएको राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले बताए ।  यता वीरेन्द्रनगरमा रिङरोड निर्माण कार्य समेत जारी छ ।

 

तर रिङरोडका सडक समेत अपाङ्गमैत्री बनाउन प्रदेश सरकार र नगरपालिका चुकेको देखिन्छ । यसैको एक उदाहरण हो, वीरेन्द्रनगर बजार क्षेत्रको मुख्य सडक । यो सडक गत असारमा खड्का निर्माण सेवा नेपालगंजले सम्झौता अनुसार हतार हतारमा निर्माण गरेको हो । तर डीपीआरमै अपाङ्गमैत्री सडकको डिजाइन नभएपछि अन्ततः ठेकेदारले पनि सम्झौता अनुसार काम गरे । र सडक पनि अपाङ्गमैत्री बनेन ।

 

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार यो सडक निर्माणका लागि १२ करोड ६४ लाख खर्च भएको छ ।  ‘डीपीआरमै अपाङ्गमैत्रीको डिजाइन रहेनछ । हामी यसलाई फेरी संशोधन गर्दै आवश्यक बजेट छुट्टाएर अपाङ्गमैत्री बनाउने तयारीमा छौँ’ पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक रामशरण आचार्यले भने ‘सम्झौता अनुसार ठेकेदारलाई पनि तत्काल काम गर्नुपर्ने भएकाले र समय पनि छोटो भएकाले अपाङ्गमैत्री बनेन अब आएको गुनासोलाई सम्बोधन गछौं ।’

 

साथै उनले अब बन्ने सबै सडक अपाङ्गमैत्री डिजाइनमा बन्ने पनि आश्वासन दिए । वीरेन्द्रनगरका सडकमा क्षमताभन्दा सवारीसाधनको सङ्ख्या बढी छ । सडकमा साँघुरा मोड र ठाडो उकालो ओरालो हुनु, प्राविधिक मापदण्ड र उचित इन्जिनियरिङबिना सडक निर्माण हुनुले पनि यहाँका सडक अपाङ्गमैत्री बन्न सकेका छैनन् ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतबार