२०८३ वैशाख १३ , आइतबार

सल्यानमा सासूको हत्या आरोपमा बुहारी पक्राउ



सल्यान । सल्यानमा सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । सासूको हत्याको आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज १८ गते बिहान घरभित्रै भकारीमा मृत अवस्थामा फेला परेकी सल्यान सिद्धकुमाख गाउँपालिका–४ खार्वनकी ४९ वर्षीया गणेशी रोकाको बुहारीले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरभित्रै भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टमार्टम रिपोर्टमा समेत हत्या भएको खुलेपछि शर्मिलालाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए ।

शर्मिलालाई अहिले हिरासतमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको कार्कीले जानकारी दिए । पोष्टमार्टम रिपोर्टमा मृतकको टाउको र छातीमा चोट लाग्नुका साथै घाँटीमा नीलडाम देखिएको उनको भनाइ छ ।

शर्मिलाले गत वैशाखमा मात्र गणेशीका छोरा २१ वर्षीय अमरसँग बिहे गरेकी थिइन्। शर्मिलाले सासूले दैनिकजसो गाली गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकारे गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतबार