रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा लागेको स्यार्पु पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव ६० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव असोज ११ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो ।
महोत्सवमा विभिन्न राष्ट्रिय स्तरका कलाकारले आफ्नो प्रस्तुति राखेका थिए । महोत्सवमा विभिन्न स्टल राखिएको थियो भने विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो । महोत्सव हेर्न विभिन्न जिल्लाबाट मानिसहरू स्यार्पु पुगेका थिए । जाजरकोट, रुकुम पूर्व, सल्यान, सुर्खेत, दाङबाट महोत्सव हेर्न दर्शकहरु आएको आयोजकले बताएको छ ।
महोत्सवसँगै चारैतिरबाट स्यार्पु ताल हेर्न सकिने भएपछि महोत्सवमा आउनेको संख्या बढेको वडा नं ३ का अध्यक्ष तिलबिर केसीले बताए । स्यार्पु तालको वरिपरि २ वटा भ्युटावर रहेका छन् । भ्युटावरबाट पुरै तालको अवलोकन गर्न सकिन्छ । भ्युटावर चढेको शुल्क लाग्दैन । त्यसले गर्दा पनि महोत्सव हेर्नका लागि आउनेको संख्या बढेको हो ।
प्रत्यक्षरुपमा १० हजार र अप्रत्यक्षरुपमा ५० हजारले अवलोकन गरेको २३औं स्पार्पु पर्यटन, व्यापार तथा सांस्कृतिक मेलाको सम्पूर्ण जिम्मा लिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देबकोटाले जानकारी दिए ।
स्टल अवलोकन गर्नका लागि एक व्यक्ति बराबर एक सय रुपैयाँको शुल्क निर्धारण गरिएको थियो । स्यार्पु हेर्न आउने पर्यटकका कारण त्यहाँका होटल व्यवसाय पनि चलायमान बनेको थियो । स्यार्पु ताललाई चिनाउनका निम्ति हरेक वर्ष असोज ११ गतेदेखि तालको छेउमा महोत्सव लाग्दै आएको छ ।