२०८३ वैशाख १४ , सोमबार

दैलेखको भैरबीमा शुरू भयो पेट्रोलियम पदार्थ उत्खनन



दैलेख । ​​दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम शुरू भएको छ ।पेट्रोलियम पदार्थ उत्खननको लागि लामो समयदेखि चिनियाँ विशेषज्ञ प्राविधिकहरूले अन्वेषणको काम गर्दै आएका थिए । दैलेखको भैरबी गाउँपालिकामा पेट्रोलियम पदार्थ उत्खननको काम अगाडि बढेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

अहिले नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको बताउँदै उनले त्यसमध्ये भैरबीमा उत्खननको काम अगाडि बढाइएको बताए । यसका साथै पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रमा रुख कटान शुरू भएको छ ।

प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाइएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रवर्द्धन आयोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए ।

विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले डिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका मोड मिलाउने सहमति अनुसार काम अघि बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० मंसिर १४ गते बिहीबार