
सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा यतिबेला गृह जिल्लामा सक्रिय छन् । स्वयमसेवकहरुसँग अहोरात्र खटिएका नेता शर्मा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, अरबारे स्यानोबारी टोलमा शनिबार बिहानैदेखि अस्थायी आवास निर्माणमा सक्रिय भएका छन् ।
कार्तिक १७ गतेको भूकम्पले यहाँका धेरैजसो घरमा क्षति पुर्याएको थियो । शर्माको कमान्डमा एउटा समूहले बिहानैदेखि आवास निर्माण सुरु गरेको हो । त्यहाँ एकै साथ तीन वटा अस्थायी आवास निर्माण भइरहेका छन् । माओवादीमा एक्सन ओरिएन्टेड मानिने नेता शर्माको कमान्डमा जिल्लाभर तीन हजार भन्दा बढी स्वयंसेवक खटाइएको छ।
माओवादी स्वयमसेवकहरुले धमाधम अस्थायी आवास निर्माणको काम गरिरहेका छन्। मङ्सिरभित्र नै अस्थायी आवास निर्माण गरेर त्रिपालमा रहेका नागरिकलाई अस्थायी आवासमा सारिसक्ने लक्ष्यका साथ काम भइरहेको शर्माले बताए।