
सडक स्तरोउन्नति नगरेको भन्दै वीरेन्द्रनगरमा गरिएको विरोध प्रदर्शन।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गन्तव्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । लाँटीकोईली युवा समाजको अगुवाइमा काँक्रेविहार जाने सडक खण्ड स्तरोन्नतिमा ढिलाइ भएको भन्दै सरोकारवालाहरूको ध्यान आकर्षण गर्दै दबाबमूलक विरोध ¥याली निकालिएको हो ।
कालोपत्रेको काम सुरु नगरेर ठेकेदार भागेपछि धुलोले स्थानीयहरूको स्वास्थ्यमा दिनानुदिन प्रभाव पार्ने थालेसँगै पटक पटक यहाँ विरोध हुने गरेको छ । १८ महिनाभित्र सक्ने गरी काम सुरु भए पनि ३ वर्षसम्म सडक निर्माणको काम अलपत्र पारेपछि स्थानीयहरूले वीरेन्द्रनगर बजारमा विरोध गरेका हुन्।उनीहरुले सरोकारवाला निकायसंग छलफल कार्यक्रम समेत राखे ।
कालोपत्रेको काम बिचैमा छाडेर ठेकेदार भागेपछि धुलोले घरमा बस्न नसकिने अवस्था भएको स्थानीय दिलबहादुर महताराले बताए । सडक क्षेत्रभित्रका ३६ घर टहराहरू भत्काइएर सडक चौका गरेको थियो । तर, कालोपत्रे नगरेर बिचैमा ठेकेदार भागेपछि ३ वर्षदेखि सडक अलपत्र भएको हो।सडक चौडा र प्रायः ग्राभेल समेत गरेको सडक कालोपत्रे हुन नसक्दा धुलोले स्थानीयहरूको स्वास्थ्य समेत बिग्रन थालेपछि सडकमै उत्रेर विरोध गर्नुपरेको स्थानीयहरू बताउँछन् ।
कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको सडक अलपत्र परेसँगै स्थानीयहरूले विरोध गरेका हुन् । सडक पूर्वाधार निर्देशनालय सुर्खेतका अनुसार २५ मिटर चौडाइ, दुई मिटर फुटपाथ क्षेत्र बनाइने डिजाइनमा छ।१२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको हो ।