सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी पाँच वर्षे रणनीतिक योजना तयार पारेको छ । वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थ सेवन सामाजिक, आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले हानिकारक भएको भन्दै पाँच वर्षे रणनीति तयार पारेको हो । चालू आर्थिक आर्थिक वर्षबाट लागू भएर आगामी पाँच वर्षे कार्ययोजनालाई कार्यन्वयन गर्नका लागि नगरपालिकाले नेतृत्वदायी भूमिका लिएर कार्यान्वयन गर्ने नगरपालिकाले जनाएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल र विश्व स्वास्थ्य संगठनले आयोजना गरेको मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी आगामी कार्ययोजनाका छलफल कार्यक्रमको आयोजना गर्दै मदिरा नियमन तथा नियन्त्रणमा प्रभावकारी कार्यान्वयन गर्ने नगरपालिकाले जनाएको छ ।
मदिराका कारणले व्यक्तिको स्वास्थ्यमा मात्रै प्रभाव नपर्ने त्यसले सामाजिक रुपले अशान्ति, परिवारको इज्जत र प्रतिष्ठामा आँच पु¥याउने भएकाले यसको नियन्त्रणका लागि नियमन गर्न कार्ययोजना ल्याएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।
यसको लतले आर्थिक समस्या परिवारका बालवालिकाको स्वास्थ्य, शिक्षा, पोषण लगाएतका क्षेत्रमा असर परेका कारणले यो नियमन गर्नका लागि कार्ययोजना ल्याएको उनको भनाइ छ । जनस्वास्थ्य ऐन २०७५ को दफा ३ को उपदफा (४) को (घ) ले आधारभूत स्वास्थ्य सेवाभित्र नसर्ने रोग समेटेकोले हुनाले उक्त कानुी व्यवस्थाको कार्यन्वयनको दायित्य स्थानीय तहलाई दिइएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले बताए ।
मदिराजन्य पदार्थको उपभोगबाट हुने स्वास्थ्य तथा सामाजिक समस्याको निराकरणका लागि त्यस्ता पदार्थको उत्पादन, बिक्रि, वितरणमा नियमन तथा नियन्त्रण गर्न जरुरी रहेको उपभोक्ता हित संरक्षण मञ्च, नेपालका कर्णाली प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले बताए ।
वीरेन्द्रनगर नगरपालिकाले ल्याएको मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्ने कार्ययोजनाको मुख्य उद्देश्य नगरपालिका क्षेत्रभित्र मदिराको उत्पादन, बिक्री वितरण, उपभोग तथा विज्ञापनलाई नियमन तथा नियन्त्रण गर्नु रहेको छ ।
नगरपालिकाले मदिराजन्य पदार्थको प्रभावकारी नियमन तथा नियन्त्रणका लागि मार्ग दर्शन गर्ने, मदिराजन्य पदार्थ सेवन गरि सवारी साधन चलाउनेविरुद्धमा अनुगमन र नियमन कार्य प्रभावकारी बनाउने लक्ष्य राखिएको नगर प्रमुख ढकालले जानकारी दिइन् । ‘मदिराजन्य पदार्थको निरुत्साहन, स्वास्थ्यमा पर्ने असर नसर्ने रोगको जनचेतना अभिवृद्धि गर्ने र मदिरामा फसेकाहरुको समयमै स्क्रिनिङ, पुर्नस्थापना तथा उपचारमा सहज पहुँच पु¥याउने लक्ष्य राखिएको उनको भनाइ छ ।