
सुर्खेत । राष्ट्रिय आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यालय काठमाडौंको पहल तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद रुकुम पश्चिमको आयोजनामा रुकुम पश्चिम सानिभेरी गाउँपालिकाका भूकम्प प्रभावित १ सय ५० घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ ।
जिल्लाको सानिभेरी गाउँपालिकाको वडा नं १ र २ का भूकम्प पीडित परिवारका लागि राहत सामग्री वितरण गरिएको आदिवासी जनजाति महिला महासंघकी जिल्ला सचिव सपना पुनले बताइन् । विशेषगरी जनजाति महिला सुत्केरी, एकल महिला, अपांग, वृद्धअवस्थाका महिला, बिरामी तथा किशोरीहरुका लागि राहत वितरण गरिएको जिल्ला सचिव पुनको भनाइ छ ।
उनीहरुलाई चामल १ बोरा, फाइबर सिरक १ थान, पाल १ पिस, पिफम १ पिस, सेनिटरी प्याड, दाल, तेल, नुन, चिनी र चियापत्ती वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी केन्द्रीय अध्यक्ष निमी शेर्पा, महासचिव सोभा सुनुवार, कार्यालयको लेखा शाखाकी मिना शेर्पा र आदिवासी जनजाति महिला महासंघ रुकुम पश्चिमकी सचिव सपना पुन मगरलगायतको सहभागिता रहेको थियो ।