
जाजरकोट । असल छिमेकी नेपाल पोखराले जाजरकोटका भूकम्प प्रभावितलाई न्यानो कपडा उपलब्ध गराएको छ । बारेकोट गाउँपालिका वडा नम्बर १ का २ सय ५० भूकम्प प्रभावित घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीले बताए ।
प्रतिपरिवार ब्ल्यांकेट मोटो १ थान, ब्ल्यांकेट पातलो १ थान, त्रिपाल १ थान, टोपी ५ थान लगायतका सामग्री वितरण गरिएको छ । त्यस्तै बारेकोट गाउँपालिका वडा नं। १, २, ३, ४ र ५ नम्बर वडाका।२ सय जना सुत्केरी तथा गर्भवती महिलाहरुका लागि स्थानीय स्वास्थ्य इकाइहरुको समन्वयमा खाद्य तथा कपडाहरु वितरण गरिएको छ ।
परियोजना प्रमुख सुमन बयलकोटीका अनुसार उपलब्ध सामानहरुमा प्रति सुत्केरी तथा गर्भवती महिलालाई ऊनीको पच्छ्यौरा १ थान, बच्चाको ब्ल्यांकेट १ थान, पोलार ब्ल्यांकेट १ थान, १र२ केजी घ्यू, ज्वानो २०० ग्राम, मेथी १०० ग्राम, मोजा २ जोडी, आमालाई ऊनीको टोपी १ थान, बच्चालाई ऊनीको टोपी १ थान, तोरीको तेल १ लिटर, लुगा धुने साबुन २०० ग्रामका ३ वटा, नुहाउने साबुन ७५ ग्रामका २ वटा र जेब्रा ब्याग वितरण गरिएको छ ।
चिसोको समयमा राहत सामग्री पाएपछि भूकम्प प्रभावितहरुले खुसी व्यक्त गरेका छन् । राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट, बारेकोट गाउँपालिका, वडा र स्थानीय अगुवाहरुको समन्वयमा वितरण गरिएको थियो ।
वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि लाल बहादुर पुन, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीलगायत असल छिमेकी नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो । पोखराबाट राहत लिएर पुगेको टोलीले पालिकाको समन्वयमा भूकम्प प्रभावितहरुलाई राहत आफैं वितरण गरेको हो ।