कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतमा पछिल्लो समय दुर्घटनाका घटनाहरू बढ्दै गएका छन् । आम नागरिकलाई ट्राफिक नियमका बारेमा जानकारी नहुँदा दुर्घटनाका घटनाहरू बढ्दै गएको र यसले सुर्खेतको सडक असुरक्षित देखिएको सरोकारवालाहरू बताउँछन्। वीरेन्द्रनगरमा बनेका नयाँ सडकहरूमा मात्रै ४६ वटा जेब्रा क्रसिङ रहेका छन् ।
ती जेब्राक्रसिङको प्रयोग भने भएको देखिँदैन । ट्राफिक कार्यालयले सर्वसाधारणहरूलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले जेब्राक्रसिङ राखेपनि यसको बारेमा जानकारी नहुँदा उनीहरूले बिच सडकबाटै बाटो काट्ने गरेका छन् । यसले गर्दा प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
खबरदृष्टिकाका सम्वाददाता वीरेन्द्रनगरका सडकहरूमा ट्राफिक अवस्था कस्तो छ भनी बुझ्न सोमबार दिउँसो वीरेन्द्रनगरको मुख्य बजारहरू रहेको वीरेन्द्रनगर बजार, दैलेख रोड चोकहरूमा पुगेका थिए । हामी पुग्दा त्यहाँ पैदल यात्रुको आवतजावत निकै बढी थियो । दैलेख रोड चोकमा २ वटा जेब्राक्रसिङ बनाइएको छ ।
तर, पैदल यात्रुले ती जेब्राक्रसिङबाट भने बाटो क्रस गरेको देखिएन । उनीहरूले बिच सडकबाटै बाटो क्रस गरेको भेटियो । बिच सडकबाट बाटो पार गरेकी एक महिलाले आफू गाउँबाट यहाँ आएकाले कसरी बाटो काट्ने भन्ने बारेमा केही जानकारी नभएको बताइन् ।
उनले भनिन् ‘म दैलेखबाट आएकी हुँ, जेब्राक्रस भनेको के हो मलाई केही थाहा छैन, बाटो काट्न डर लाग्छ, गाडीहरू हुइँकिएर आएका हुन्छन्।’ पैदल यात्रुुहरुले मनपरी बाटो काट्दा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको भनाइ छ । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्रसिं बुढाथोकीले सवारीको सङ्ख्या वृद्धिसँगै दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूको सङ्ख्या बढ्दै गइरहेको बताए ।
उनले सर्वसाधारणहरूलाई ट्राफिक नियमबारे जानकारी नहुँदा जथाभाबी बाटो क्रस गर्ने गरेको बताए । बुढाथोकीले भने ‘वीरेन्द्रनगरका जेब्राक्रसिङमा रङ्ग रोगन गरेर टाढैबाट प्रस्ट देखिने गरी चिरिच्याट्ट बनाइएको छ, ती जेब्राक्रसिङबाट कतिपय यात्रुले सडक पार गर्ने गरेको देखिँदैन, उनीहरूलाई ट्राफिक नियमबारे जानकारी नै छैन ।’
सर्वसाधारणहरूलाई सडक वारपार गर्न बनाइएको जेब्राक्रस चिह्नको बारेमा धेरैजसो नागरिक र चालकसमेत अनभिज्ञ भएको उनको भनाइ छ । उनले जेब्राक्रस चिह्नको महत्वका बारेमा जानकारी नहुँदा अधिकांश पैदल यात्री र चालकहरूले जथाभाबी सडक वारपार गर्ने गरेको बताए ।
तीन वर्षमा कति भए सवारी दुर्घटना ?
कर्णाली प्रदेशको राजधानी सुर्खेतमै सडक दुर्घटनाले भयावह रूप लिन थालेको छ । सवारीको चाप वृद्धिसँगै दुर्घटनामा मृत्यु र घाइते हुनेको सङ्ख्या बढिरहेको छ। कार्यालयले सिद्धदर्शन दैनिकलाई उपलब्ध गराएको पछिल्ला तीन आर्थिक वर्षको दुर्घटनाको तथ्याङ्क केलाउने हो भने सवारी साधन दुर्घटनाको दर बढ्दो क्रममा देखिएको छ ।
तीन वर्षको अवधिमा ७ सय १ सवारी दुर्घटनामा परि ८६ जनाको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ। यस अवधिमा ३ सय ६५ जना शक्त र ९ सय १८ सामान्य घाइते भएको ट्राफिकको तथ्याङ्क छ । जसमा आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ८९ सवारी दुर्घटनामा परि २५ जनाको मृत्यु भएको छ भने ९३ जना गम्भीर घाइते भएका छन् ।
२ सय ४९ जना सामान्य घाइते भएका छन् । यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ९३ सवारी दुर्घटनाबाट ३१ जनाको मृत्यु भएको छ भने १ सय २९ जना गम्भीर घाइते र २ सय ४६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷०८० मा ३ सय १९ सवारी दुर्घटनाबाट ३० जनाको मृत्यु भएको छ भने १ सय ४२ जना गम्भीर घाइते र ४ सय २३ जना सामान्य घाइते भएका छन् ।
किन हुन्छ सवारी दुर्घटना ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतकाअनुसार साना सडक र सवारी साधनको सङ्ख्या अधिक भएकोले दुर्घटनामा वृद्धि भएको हो । अति तीव्र गति, लेन अनुशासनको पालना नगर्नु, मादक पदार्थ सेवन गरेर गाडी चलाउनु, पुराना र कन्डिसनमा नभएका गाडीहरू चल्नु र अनुभवी चालक नहुनुजस्ता कारण सवारी दुर्घटना भइरहेको पाइन्छ ।
प्रमुख बुढाथोकीले राजधानीमा सवारी दुर्घटना कम गर्न नयाँ गाडी दर्तामा रोक लगाई सडकको लम्बाइ बढाउन सुझाव दिए। उनले राजधानीका सडकहरूमा निर्वाध रूपमा सवारी गुडाउन नमिल्ने गरी आफूखुसी स्पिड ब्रेकरहरू राखिएको, चौकमा अव्यवस्थित पार्किङ, अटोरिक्साहरुको मनोमानी पार्किङ, सडकको छेउमा निर्माण सामग्री राख्दा दुर्घटना बढ्दै गएको बताए ।
उनले सर्वसाधारणहरूलाई ट्राफिक नियमबारे जानकारी दिने लगायतका विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्न सकेमा दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । ट्राफिक प्रहरीले दुर्घटना कम गराउन र सवारी साधनको जाम कम गर्न चालकहरूलाई सचेतनासँगै कारवाहीमा पनि कडाइ गरिरहेको उनको दाबी छ ।
प्रमुख बुढाथोकीले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको दाबी पनि गरे । उनकाअनुसार सवारी चालक, परिचालक, विद्यार्थी तथा सर्वसाधारणलाई २ सय ५५ पटक गरी १९ हजार १ सय ६३ जनालाई ट्राफिक नियमबारे जनचेतना दिइएको छ ।
उनले विभिन्न ५१ स्थानमा सचेतनामूलक बोर्डहरू राखिएको र श्रोत र साधनले भ्याएसम्म नागरिकहरू, सवारी चालकहरू सडक दुर्घटनामा नपरून् भनेर जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जनाए। उनले भने, ‘यसमा सडक पार गर्ने, अन्य नियम पालना गर्ने र कसरी सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी दिने गरेका छौँ ।’
कति भयो तीन वर्षमा राजस्व सङ्कलन ?
कार्यालयले तीन आर्थिक वर्षमा नियम विपरीत सवारी साधन चलाउने चालकमाथि कारबाही गर्दा ३ करोड ४६ लाख १९ हजार रुपैंया राजश्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयले प्रहरीले ९० लाख २४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा १ करोड ९ लाख ११ हजार राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा यो बढेर १ करोड ४७ लाख ६३ हजार ५ सय रुपैयाँ पुगेको कार्यालयले जनाएको छ ।