२०८३ वैशाख १४ , सोमबार

आउँदो वैशाखभित्रै सिमकोटलाई कर्णाली करिडोरसँग जोडिन्छ : मन्त्री ज्वाला



हुम्ला । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आउँदो वैशाखभित्रै हुम्लाको सिमकोटलाई कर्णाली करिडोरसँग जोड्ने बताएका छन् । उत्तर, दक्षिण, व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु सलिसल्ला सडक योजनाको कार्यालय उद्घाटन गर्न कोल्टी पुगेका मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

उनले दुर्गम हुम्लाको सिमकोटलाई तत्काल कर्णाली करिडोरसँग जोड्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिएका छन् । सडक निर्माण, स्तरोन्नति र पुल निर्माणको कामलाई ढिला सुस्ती गर्न नहुने बताए । मन्त्री ज्वालाले बाह्रै महिना सडक नियमित सुचारु गर्न र आउँदो वैशाखभित्रै हुम्लाको सिमिकोटसम्म गाडी पु¥याउनका लागि सेवा विस्तारको कामलाई प्राथमिकता दिनुपर्ने बताए ।

दुर्गम क्षेत्रका नागरिकलाई तत्काल सुविधा दिन चाँडो भन्दा चाँडो सडक र पुलको निर्माण कार्य सक्न उनले निर्देशन दिए । सरकारका तर्फबाट रकमको अभाव नहुने बताउदै उनले निर्माण व्यवसायीलाई गुणस्तर र दिगोपनासँगै प्रभावकारी काम गर्न सुझाव दिए । उनले थप रकमको व्यवस्थापन गरी कर्णाली करिडोरको अफ्ठयारो ठाउँको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने समेत बताए ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार