२०८३ जेठ २७ , बुधबार

वीरेन्द्रनगरका व्यवसायी रुवाउँदै संरचना भत्काइयो



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सरकारी जग्गामा बनेका अस्थायी संरचनाहरू खाली गराउने नीतिअनुसार नगर विकास समिति अन्तरगत बनेका संरचनाहरूमा डोजर चलाएको छ । नगरपालिकाले बुधवार वीरेन्द्रनगर नगरपालिका–६ को घण्टाघर लाइनबाट डोजर चलाउन सुरु गरेको हो ।

नगरपालिकाले डोजर लगाएर भत्काउन थालेपछि स्थानीय व्यापारीले डोजरमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट डोजरको सिसामा पूर्णरुपले क्षति पुगेको छ । घटनामा नगरपालिकाका केही कर्मचारीहरू पनि घाइते भएका छन् । ढुङ्गा-मुढा प्रहार भएपछि नगरपालिका केही समय पछि हटेको थियो। व्यवसायीहरूले सामान सार्दै गर्दा नगरपालिकाको डोजर पुनः आएर संरचना भत्काउन सुरु गरेको थियो।

व्यवसायीहरूले हात जोड्दै सामान सार्नका लागि समय मागे पनि नगरपालिकाले उनीहरूको कुरा नै नसुनेर धमाधम संरचना भत्काउन थाल्यो । यो ठाउँमा अधिकांश निम्न स्तरका व्यवसायीहरूले व्यवसाय गरिरहेका छन्। उनीहरूले आँखामा आँसु निकाल्दै संरचना नभत्काउन आग्रह गरेपनि डोजर चलिरह्यो।

यो पनि हेर्नुहोस् – संरचना भत्काउन आएको नगरपालिकाको डोजरमा ढुङ्गा मुढा, तीन जना घाइते

उनीहरूले नगरपालिकाका मेयर मोहनमाया ढकाललाई गाली समेत गरेका थिए । केही व्यवसायीहरू भत्काउन आएको डोजरकै अगाडी भुईँमा सुतेर विरोध गरेका थिए । उनीहरुले उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले समेत धोका दिएको बताएका छन् । अध्यक्ष कँडेलले केही दिन अघि नगरपालिकाको डोजरले संरचना भत्काउन खोजे नदिने बताएका थिए ।

याे पनि – नगरपालिकाले जग्गा खाली गर्न भनेपछि व्यवसायी धर्नामा

तर बुधवार नगरपालिकाको डोजरले संरचना भत्काउँदा समेत उनी कही कतै देखा परेनन् । वीरेन्द्रनगरको–६ र ८ नम्बर क्षेत्रमा पर्ने गोदाम लाइनस्थित साल्ट ट्रेडिङको कार्यालयबाट उत्तरतर्फ नेकपा एमाले पार्टी कार्यालयसम्म,घण्टाघरबाट दक्षिणतर्फ मध्यपश्चिम विश्वविद्यालयको घेराकारसम्मका अस्थायी घर टहरा, घुम्तीलगायत संरचना हटाउन भन्दै नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो ।

व्यवसायीहरू सूचना बमोजिम नहटेपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो । डोजर चलेपछि आत्तिएका व्यापारीहरूले सामान सारिरहेका थिए । कतिपय व्यवसायीले एक हप्ताको समय माग गरेपनि नगरपालिका निर्दयी बनेको उनीहरूले आरोप लगाए । व्यवसायीहरूले आफूहरूलाई उचित विकल्पसहित उठाउनुपर्ने भन्दै नगरपालिकासङ थप समय र उचित विकल्पको माग गरेका थिए।

गत माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रका व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न सूचना जारी गरेको थियो । नगरपालिकाले निकालेको सूचनाको म्याद फागुन २३ गते सकिएको छ । त्यसपछि पनि मङ्गलवारसम्म समयावधि तोकिएको थियो । नगरपालिकाले गएको असार महिनामा पनि जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो ।

सार्वजनिक जग्गा खाली गराएर पार्किङ क्षेत्र र पार्क लगायतका संरचनाहरू बनाउने नगरपालिकाको योजना नगरपालिकाको छ। व्यवसायीलाई हटाएर शहरलाई व्यवस्थित बनाउने योजना रहेको नगरप्रमुख ढकाल बताउँछिन्।

वीरेन्द्रनगरमा अवैध संरचना हटाउन नगर विकास समितिकाे अल्टिमेटम

संरचना भत्काउन आएको नगरपालिकाको डोजरमा ढुङ्गा मुढा, तीन जना घाइते

नगरपालिकाले जग्गा खाली गर्न भनेपछि व्यवसायी धर्नामा

यसैबिच जिल्ला समन्वय समिति (जिसस) सुर्खेतले भाडामा लगाएका संरचना पनि नगरपालिकाले खाली गर्ने भएको छ। सुर्खेत उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको तर जिल्ला समन्वय समिति सुर्खेतले भाडामा लगाएका जग्गामा बनेका संरचना खाली गर्ने भएको छ ।

नगर विकास समितिको २६ माघ २०८० मा बसेको निर्णायानुसार १० फागुनमा जिल्ला समन्वय समिति सुर्खेतका नाममा पत्र लेख्दै समितिले जुन प्रयोजनका लागि जग्गा लगिएको हो सोही बमोजिम प्रयोग नभएको भए जग्गा फिर्ता गर्न भनेको हो ।

जिल्ला समन्वय समिति सुर्खेतलाई लेखेको पत्रमा भनिएको छ ‘वीरेन्द्रनगर–६ गोदाम क्षेत्रस्थित जग्गा त्यहाँ कार्यालयलाई गोदाम प्रयोजनको लागि भोगाधिकार दिएकोले हाल उक्त जग्गामा गोदाम घर निर्माण नगरी अस्थायी व्यापारिक संरचना बनाइ विभिन्न व्यापारीहरूलाई भाडामा दिएको देखिएकोले नगर विकास समितिसँग भएको समझदारी अनुरूप उक्त जग्गा उपयोग गर्न गराउनु हुन वा उद्देश्य अनुरूप जग्गाको उपयोग हुन सक्ने अवस्था नरहेको भए यसै समितिको प्रयोजनको लागि फिर्ता उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’ यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

तस्बिरहरु हेर्नुहोस् ।

प्रकाशित मिति : २०८० चैत १ गते बिहीबार