
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्वन फुकुवा गरेको छ। क्यानको बुधबार बसेको बैठकले निलम्वन फुकुवाको गरेको अध्यक्ष चतुरबहादुर चन्दले जनाएको छ। ‘सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँद छौं,’ अध्यक्ष चन्दले भनेका छन्।
बुधबार नै उच्च अदालत, पाटनले लामिछानेलाई सफाइ दिएको थियो। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्टाएको हो। जिल्ला अदालतले गत पुस १३ मा लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको थियो।
तीन लाख जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो। त्यस विरुद्ध उनी गत फागुन १० मा उच्च अदालतमा निवेदन दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै उच्च अदालतले सफाइ दिएको हो। उच्च अदालतले सफाइ दिए लगत्तै बसेको क्यानको बैठकले निलम्वन फुकुवाको निर्णय गरेको हो। जिल्ला अदालतको फैसलापछि क्यानले निलम्वन गरेको थियो।
सफाइ पाएपछि सन्दीपले भने– देशलाई जहाँ पुर्याएको थिएँ, अब अझ माथि पुर्याउँछु