२०८३ वैशाख ४ , शुक्रबार

भारतसँगको प्रतिस्पर्धात्मक खेलमा नेपालको जित



काठमाडौँ । काभा वुमन्स नेशन्स लिग भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शनिबार नेपालले भारतलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो। पहिलो सेट नेपालले जितेको थियो भने दोस्रो सेट जितेर भारतले सेट बराबरी गरेको थियो।

त्यस्तै, तेस्रो सेटमा नेपालले जित हासिल गर्दा चौथो सेट भारतले जितेको थियो। अन्तिम सेटमा नेपालले भारतलाई १५–१३ अंकले पराजित गरेको हो। यो नेपालको दोस्रो जित हो। पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो। अब तेस्रो खेलमा माल्दिभ्स र चौैथो खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ।

भारतले भने तेस्रो सेटमा हार बेहोरेको छ। यसअघिका दुई खेलमा भारतले इरान र माल्दिभ्सलाई पराजित गरेको थियो। प्रतियोगितामा नेपाल र भारतसँगै श्रीलंका, माल्दिभ्स र इरान सहभागी छन्। राउन्ड रोबिन लिगका आधारमा अंकतालिकाको पहिलोदेखि चौथो टोली सेमिफाइनलमा पुग्नेछन् भने पाँचो टोली प्रतियोगिताबाट बाहिरिनेछ।

सेमिफाइनलमा शीर्ष टोली र चौथो तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ। मध्य एशियाका क्याटेगोरी ‘ए’ र ‘बी’मा रहेका पाँच देश प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिबार