
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै तेस्रो जीत निकालेको हो । यसअघि सुदूरपश्चिमले काठमाडौं गुर्खाज र विराटनगर किंग्सलाई हराएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । १ सय ८८ रनको विजयी लक्ष्य पच्छ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनमात्रै बनायो ।
यसअघि सुदूरपश्चिमका लागि सैब जायबले अर्धशतीय पारी खेलेका थिए । उनले ६१ बलमा पाँच छक्का र छ चौकाको मद्दतले सर्वाधिक ९० रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले ३९, ब्राण्डोन म्याक मुलेनले २३, विनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले ११ रनको योगदान दिए ।
सुदूरपश्चिमले अतिरिक्त सात रन पायो ।लुम्बिनीका लागि रामोन सिमन्ड्सले सर्वाधिक दुई विकेट लिए । यस्तै, कप्तान रोहित पौडेल र विवेक यादवले समान एकरएक विकेट हात पारे ।