२०८३ वैशाख ३ , बिहीबार

दसौँ राष्ट्रिय खेलकुद फेरि सर्ने निश्चित



कुलेन्द्र शाही, सुर्खेत । चैत २३ गतेदेखि कर्णालीमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तोकिएकै मितिमा नहुने लगभग निश्चित भएको छ । खेलकुद प्रतियोगिता आउन ४२ दिन बाँकी रहँदा पनि प्रतियोगिताको कुनै पनि तयारी नहुँदा यहाँ प्रतियोगिता नहुने निश्चित जस्तै भएको हो । यसअघि तोकिएको मिति २ मङ्सिरमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिममा आएर स्थगित भएको थियो ।

उक्त समयमा प्रतियोगिता हुन नसकेपछि २३ चैतका लागि नयाँ मिति तोकिएको थियो । तर यस मितिमा पनि प्रतियोगिता नहुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् समेत लामो समयदेखि सदस्य सचिवविहीन छ । त्यसले गर्दा पनि तोकिएकै समयमा प्रतियोगिता हुने सम्भावना कमै मात्रामा देखिन्छ । २३ चैत आउन अब ४२ दिन मात्रै बाँकी छ ।

याे हेर्नुहाेस् –रंगशाला निर्माणको जस लिने होडबाजी, खेलकुद पदाधिकारी नियुक्तिमा भने छैन चासो !

निवर्तमान सदस्य सचिव विश्वमित्र सञ्जालले प्रतियोगिताको समय घट्दै गएको र आयोजकबाट कुनै पनि आधिकारिक धारणा हालसम्म पनि नआएको हुँदा प्रतियोगिता अन्योलमा भएको बताए । ‘प्रतियोगिता हुने भए त अहिलेसम्म विभिन्न सामाग्री खरिद लगायतका लागि टेण्डरको सूचना, प्रतियोगिताको तयारी गर्नुपर्ने हो, त्यो केही गरिएकै छैन । सूचना खुलाएपछि मात्रै कम्तीमा पनि ६५ दिन लाग्छ तर २३ चैत आउन ४२ दिन मात्रै बाँकी छ कसरी होला र खै !’ यस्तै सुर्खेतका अधिकांश मान्छे २३ चैतमा प्रतियोगिता नहुने ठोकुवा गर्छन् ।

त्यति मात्रै होइन यहाँका स्थानीय अब त प्रतियोगितासमेत सुर्खेतबाट अन्तै सार्ने तयारी गरेको आरोप लगाउँछन् । सुर्खेतका होटेल व्यवसायी तथा स्थानीय पत्रकार चिन्तामणि शर्माले खेलकुद परिषद्का पदाधिकारी नियुक्तिमा ढिलाइ गरे केन्द्र सरकारले दशौँ राष्ट्रिय प्रतियोगिता सुर्खेतबाटै सार्न पनि सक्ने बताए । ‘कर्णाली प्रदेशको खेलकुद परिषद्का पदाधिकारी छिटो नियुक्त गरौँ !, ’

उनी भन्छन्, ‘यसरी ढिलाइ गर्दा केन्द्रले खेलकुद प्रतियोगिता गर्न आलटाल गर्ने र अन्ततोगत्वा प्रतियोगिता सुर्खेतबाटै सार्न पनि सक्छ । कर्णाली सरकार, क्रियाशील सबै दलहरू अनि नागरिक समाज सतर्क र जिम्मेवार बनौँ !,’ यस्तै निवर्तमान सदस्य सचिव सञ्जालले खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आफ्नो अनुुकुलतामा होइन खेलाडीको अनुकूलतामा राष्ट्रिय खेलकुद गर्नुपर्ने बताउँछन् ।

याे पनि हेर्नुहाेस् –कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अनिश्चित

उनी भन्छन् ‘नैतिकता देखाउने बेला भयो मन्त्री ज्यू, राष्ट्रिय खेलकुद तपाईँको समय अनुकूलतामा गर्ने कि, खेलाडीको समय अनुकूलतामा गर्ने!  मलाई लाग्छ अर्को समय भनिदिएर मन्त्री ज्यूको फेस सेभिङ गर्ने कुरा हुनसक्छ ।’ राखेपका अध्यक्ष तथा खेलकुद मन्त्री चौधरीले पनि आइतबार सिद्धदर्शन दैनिकसँग कुराकानी गर्दै १०औँ राष्ट्रिय खेलकुद चैतमा हुन नसक्ने बताए ।

‘सायद दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा हुँदैन जस्तो छ,’ उनले सिद्धदर्शनसँग भने, ‘समय पनि कमै मात्रामा छ, बोर्डको बैठक १५/१६ गते बस्छ अनि कहिले हुने हो निर्णय हुन्छ ।’ मन्त्री चौधरीले थपे, ‘अर्थ मन्त्रालयले पनि ४५ करोडको २५ प्रतिशत बजेट घटाएर पठाएको छ, पैसा घटाएर पठाएपछि चैतमा प्रतियोगिता कसरी हुन्छ र हामीले फेरि अर्को पत्र पठाएका छौँ हेरौँ अब के जवाफ आउँछ ।’

साथै मन्त्री चौधरीले प्रतियोगिताको लागि छोटो समय भएको र तयारी नपुग्ने भन्दै २३ चैतमा प्रतियोगिता नहुने सङ्केत गरे । यता, कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले केन्द्रबाट प्रतियोगिताको लागि कुनै पनि धारणा नआएको बताए । मन्त्री भण्डारीले भने, ‘केन्द्रबाट अहिलेसम्म केही धारणा आएको छैन, प्रतियोगिता २३ चैतमा हुँदैन भनेर यसो हल्लाखल्ला सुनिएको छ ।’

प्रतियोगिता तोकिएकै मितिमा हुन्छ कि हुँदैन भन्ने प्रश्नमा मन्त्री भण्डारीले आफूहरू आयोजक नभएको र केन्द्रबाट केही धारणा नआएको हुँदा अहिले नै केही भन्न नसकिने बताए । ‘केही आधिकारिक धारणा आयो भने प्रतियोगिता हुने नहुने जवाफ दिन सकिन्छ । अहिले नै हुन्छ र हुँदैन भन्न सकिन्न ।’ उनले सिद्धदर्शन दैनिकसँग कुराकानी गर्दै भने । साथै मन्त्री भण्डारीले पदाधिकारी नियुक्तिको लागि पनि केही प्रक्रिया अगाडि नबढेको बताए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार –

रंगशाला निर्माणको जस लिने होडबाजी

कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अनिश्चित

 

प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार