
कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेश गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन प्रदेश रङ्गशालाको काम अन्तिम चरणमा रहेको छ । कर्णाली प्रदेशमा आयोजना गर्ने गरी मिति तोकिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर सुर्खेतमा बनाउन सुरु गरिएको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको हो । नौ बिघा क्षेत्रफल ओगटेको यो रङ्गशालाको काम ९९ प्रतिशत सम्पन्न भइसकेको छ । रङ्गशाला निर्माणका लागि एक अर्ब ५० करोड ४७ लाख ४७ हजार रुपैयाँमा (भ्याटसहित) सम्झौता भएको थियो ।
कर्णाली प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव विश्वामित्र सञ्जालले रङ्गशाला निर्माणको काम अन्तिम चरणमा रहेको बताए । उनले रङ्गशालाभित्र १६ वटा राष्ट्रिय खेल खेलाउन सकिने र फुटबल मैदानमा हुने खेल १० हजार जनाले अवलोकन गर्न सक्ने गरी संरचना बनाएको बताए । जसमध्ये भिभिआइपी र भिआइपी पारापिटतर्फ मात्र चार हजार दर्शक बसेर खेल्न हेर्न मिल्ने गरी संरचना निर्माण गरिएको छ ।
के के छ रङ्गशालामा ?
रङ्गशाला निर्माणको काम अन्तिम चरणमा रहेको र अब यसलाई अन्तिम रूप दिन मात्र बाँकी छ । यहाँ पौडीका लागि स्विमिङ पुल बनिसकेको छ । बास्केट बल, भलिबल लगायतका खेलका लागि आउटडोर र इनडोर कोर्ट बनाइएको छ । आउटडोर कोर्ट निर्माण भइसकेका छन् भने इनडोर कभर्ड हलको काम पनि अन्तिम चरणमा पुगेको छ । कभर्ड हलभित्र हुने खेल मात्र कम्तीमा एक हजार पाँच सय दर्शकभित्रै बसेर हेर्न मिल्ने गरी कभर्ड हलको संरचना निर्माण गरिएको छ ।
यस्तै बक्सिङ, तेक्वान्दो, उस्सु, कराँते, ब्याडमिन्टन लगायतका खेल खेल्न मिल्ने गरी एकै पटक संरचना निर्माण गरिएका छन् । यी संरचनामध्ये कतिपय बनिसकेका छन्, कतिपय भने अन्तिम चरणमा छन् । भिआइपी र भिभिआइपीका लागि छुट्टै पारापिट र अन्डरग्राउन्ड पार्किङको संरचना निर्माण गरिएको छ । यस्तै रंगरोगन, सरसफाइ, लाइनिङ जस्ता काम मात्र बाँकी रहेको निवर्तमान सदस्य सचिव सञ्जालले बताए । यस्तै खुला पार्किङ, व्यावसायिक सटर निर्माण, परिसरमा हरियाली बनाउने काम पनि सकिसकेको छ ।
अनिश्चित राष्ट्रिय खेलकुद
यसअघि तोकिएको मिति २ मङ्सिरमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिममा आएर स्थगित भयो । उक्त समयमा स्थगित हुन नसकेपछि चैत २३ गतेका लागि नयाँ मिति ताकियो । तर, २३ चैतदेखि पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने नहुने केही टुङ्गो छैन । यही बेला कर्णाली प्रदेश खेलकुद विकास परिषद् समेत सदस्य सचिवविहीन छ । त्यसले गर्दा पनि तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद हुने सम्भावना कमै मात्रामा छ ।
यसअघि तोकिएको समयमा दशौँ राष्ट्रिय खेलकुद हुन नसकेको हुँदा यस पटक पनि प्रतियोगिता हुने सम्भावना कमै देखिएको हो । चैत २३ आउन अब ६९ दिन मात्रै बाँकी छ । निवर्तमान सदस्य सचिव सञ्जालले प्रतियोगिताको समय घट्दै गएको र आयोजकबाट कुनै पनि आधिकारिक धारणा हालसम्म पनि नआएको हुँदा प्रतियोगिता अन्योलमा भएको बताए । ‘प्रतियोगिता हुने भए त अहिलेसम्म विभिन्न सामाग्री खरिद लगायतका लागि टेण्डरको सूचना खुलाउनुपर्ने हो त्यो केही गरिएकै छैन सूचना खुलाएपछि कम्तीमा पनि ६५ दिन लाग्छ, चैत २३ आउन ६८ दिन मात्रै बाँकी छ कसरी होला र खै !’
उनले भने, ‘रातारात प्रक्रिया सुरु गरे पनि समय पुग्दैन कि कानुन विपरीत गर्नुप¥यो । नत्र भने समय नहुँदै यो चमत्कार त के देखिएला र !’ उनले थपे, ‘खेलाडीलाई तयारी गर्नुपर्ने, खेल सामग्रीदेखि ड्रेसको व्यवस्थापन, प्रशिक्षण सञ्चालन आदि गर्न शुरू नै भइसकेको अवस्था छैन उद्घाटन सत्रभन्दा अगाडि केही खेल खेलाउने कुरा त अब असम्भव जस्तै भइसक्यो। ’,
यस्तै एमाले निकट व्यवसायी तथा पत्रकारसमेत रहेका चिन्तामणि शर्मा ताकिएको समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने सम्भावना कमै देखिएको बताउँछन् । उनी भन्छन् ‘खेलकुद आयोग कर्णाली प्रदेश र खेलकुद परिषद्का पदाधिकारीहरू रिक्त भएका छन् । राष्ट्रिय खेलकुद हुन ३ महिना पनि समय बाँकी नरहेको बेला पदाधिकारी नै खाली राखेर कसरी आयोजना सम्भव होला र !’ उनले कर्णाली प्रदेश हरेक सूचकमा कमजोर प्रदेशले रहेकाले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्नु चानचुने विषय नभएको बताउँछन् ।
उनी हजारौँ खेलाडी र दर्शकहरूको सुर्खेतमा व्यवस्थापन गर्न सहज नभएको दाबी गर्छन् । ‘कर्णाली प्रदेश जस्तो हरेक सूचकमा कमजोर प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्नु चानचुने विषय होइन, हजारौँ खेलाडी र दर्शकहरूको सुर्खेतमा व्यवस्थापन गर्न सहज पनि छैन ।’ उनी भन्छन्, ‘तर कोसिस गरे असम्भव पनि छैन । यसका लागि सबैभन्दा पहिला फास्टट्रयाकबाट पदाधिकारीहरू नियुक्ति गर्नुपर्छ । नियुक्ति गर्दा सरकारमा सहभागी नेपाली काँग्रेस र एमालेबिच न्यूनतम सहमति जरुरी छ ।’
उनले खेलकुद परिषद्का पदाधिकारी रिक्त रहेकाले प्रतियोगिता हुने सम्भावना न्यून देखेको बताए । यसअघिका सदस्य सचिव विश्वामित्र सञ्जालको पदावधि गत पुस ६ गतेदेखि सकिसकेको छ । सामाजिक विकास मन्त्रालयले गत पुस २६ गते मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत रामप्रसाद उपाध्यायलाई परिषद्को सदस्य सचिवको रूपमा दैनिक कामकाज सञ्चालन गर्ने जिम्मा दिएको छ ।
खेलकुद विकास ऐन, २०७६ अनुसार मन्त्रालयले केवल परिषद्को सदस्यसचिवलाई बैठक बोलाउन निर्देशन दिन र बैठकको अध्यक्षता गर्न सक्छ, अन्य कुनै जिम्मेवारी तोक्न भने ऐनमा कुनै व्यवस्था छैन ।
यद्यपि मन्त्री भण्डारीले ‘सबै कुरा ऐनमा नलेख्ने’ र तोकिएका व्यक्तिलाई सम्पर्क व्यक्ति भनेर जिम्मेवारी दिएको बताउने गरेका छन् । मन्त्री भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा हुने दाबी गरे । उनले आयोजकले बहाना देखाएर प्रतियोगिता स्थगित गर्नुपर्ने अवस्था नभएको जिकिर गरे । साथै मन्त्री भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न, खेलाडीलाई प्रशिक्षणमा राख्न भन्दै खेलकुद परिषद्ले पत्र पठाएको बताए ।
अपनत्व लिने होडबाजी
दशौँ राष्ट्रिय खेलकुद हुने नहुने टुङ्गो छैन । तर, कर्णालीमा रङ्गशाला निर्माणको जस लिने होडबाजी नै चलेको छ । प्रदेशका राजनीतिक दलहरूबिच सुर्खेतमा निर्माणको अन्तिम चरणमा रहेको कर्णाली प्रदेश रङ्गशाला निर्माणको जस लिन तँछाडमछाड चलेको छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही (माओवादी नेता) नेतृत्वको सरकारले प्रदेश गौरवको योजना अनुसार कर्णाली प्रदेश रङ्गशाला बनाउने भन्दै विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो भने त्यसका लागि बजेट विनियोजनसमेत गरेको थियो ।
त्यसपछि मुख्यमन्त्री बनेका नेपाली काँग्रेसका जीवनबहादुर शाहीले रङ्गशालाको शिलान्यास गरे । मुख्यमन्त्री हुँदा र नहुँदा पनि निरन्तर अनुगमन गरिरहे । शाहीपछि मुख्यमन्त्री बनेका माओवादी नेता राजकुमार शर्माले पनि अनुगमन गर्ने गरेका थिए भने हाल मुख्यमन्त्रीको रूपमा एमाले नेता यामलाल कँडेल छन् । तर, यो रङ्गशाला निर्माण सम्पन्न हुन एक प्रतिशत मात्र बाँकी रहँदा काँग्रेस, एमाले र माओवादीबिच रङ्गशाला निर्माणको जस लिने होडबाजी चल्न थालेको छ । केही दिन अघि एक राष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू मुख्यमन्त्री हुँदा निरन्तर निगरानी नगरेको भए यति छिटो रङ्गशाला तयार हुन नसक्ने बताए ।
पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही रङ्गशाला निर्माणको जस लिन खोजिरहेका छन् भने शर्मा पनि उही लाइनमै छन् । त्यति बेला प्रमुख प्रतिपक्षी दलका नेता रहेका हालका मुख्यमन्त्री कँडेलले आफूले प्रतिपक्षमा बसेर सहयोग नगरेको भए रङ्गशाला निर्माण हुन नसक्ने बताउने गरेका छन् । ‘यो रङ्गशाला निर्माण गर्ने निकाय राज्य नै हो । राज्यको लगानी भएको छ’, स्थानीय पत्रकार चिन्तामणि शर्मा भन्छन्, ‘राजनीतिक दलहरूबिच रङ्गशाला निर्माणको श्रेय लिन हानथाप भइरहेको देख्दा लाज पनि लजाएको महसुस भएको छ ।’
यस्तै उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष कँडेलले राजनीतिक दलहरूले आफूहरूले निर्माण गरेको भनेर अपनत्व लिनु गलत भएको बताउँछन् । उनी राजनीतिक दलहरूले नभई जनताको करबाट रङ्गशाला निर्माण भएको हुँदा यसमा प्रदेश सरकार र कर्णालीका जनता धन्यवादको पात्र भएको बताउँछन् । ‘यसमा सबैको आ–आफ्नै योगदान छ ।’ उनले भने, ‘तर मैले बनाए भनेर कुनै पनि राजनीतिक दल लाग्नु गलत हो, यसमा प्रदेश सरकार र कर्णालीका जनताले सहयोग गरेका हुन् ।’
यस्तै सामाजिक मन्त्री भण्डारीले रङ्गशाला निर्माणमा राजनीतिक दलहरूले जस लिनु स्वाभाविकै भएको बताए । उनले सबैको आ–आफ्नै योगदान भएको हुँदा सबैले जस लिन खोज्नु सामान्य भएको बताए । ‘यहाँ प्रदेश सरकारी स्थायी छैन, रङ्गशाला निर्माणमा सबैको योगदान छ । अहिलेसम्म ४ जना मुख्यमन्त्री बन्नुभयो उहाँहरू सबैको यसमा महत्वपूर्ण भूमिका छ ।’ मन्त्री भण्डारीले भने, ‘त्यसैले सबैले जस लिन खोज्छन् म त जस लिनेभन्दा पनि रङ्गशालालाई दिगो कसरी बनाउने हो त्यसतर्फ सबैलाई ध्यान दिन आग्रह गर्छु ।’