२०८३ भदौ ३ , बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत साउन ९ गते राजीनामा दिएका थिए । त्यसपछि साउन १२ गते कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका थिए ।

विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबीच केहीबेरमा छलफल हुनेछ । नेकपाका नेता कालीबहादुर मल्लका अनुसार विश्वासको मत, सत्ता समीकरण तथा आगामी सरकार सञ्चालनका विषयमा दुई दलबीच छलफल हुन लागेको हो ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आज दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेपछि सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने बाटो खुल्नेछ । त्यसपछि सरकारका नीति तथा कार्यक्रम, विकास निर्माण तथा प्रदेशका समसामयिक समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने मुख्यमन्त्री शाहीले बताएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार