२०८३ भदौ २ , मंगलबार

भेरीलिफ्टिङ खानेपानी आयाेजना अनिश्चयतर्फ: दाेश्राे प्याकेजकाे बाेलपत्र खारेज



चिन्तामणि शर्मा

सुर्खेत । बहु-प्रतिक्षित सुर्खेत उपत्यका खानेपानी आयाेजना निर्माणमा अनिश्चितता छाएको छ। विश्व बैंककाे ऋण सहयोगमा हुने आयाेजनाकाे दाेश्राे प्याकेज टेण्डर स्वीकृतकाे क्रममा वाेलपत्र छनाैट प्रकृयामा प्रश्न उठाउँदै  प्राबिधिक टेण्डर खारेज गर्ने पत्र पठाएसंगै भेरी लिफ्टिङ् खानेपानी आयाेजना सम्पन्न नहुने निश्चित भएको छ।

विश्व बैंकले साउन २२ गते कार्यान्वयन ईकाईलाई पत्र लेख्दै हाल प्रयोगमा रहेको ई-जिपी (e-GP) प्रणालीको प्राविधिक त्रुटि तथा विश्वसनीयतालाई औंल्याउँदै जारी खरिद प्रक्रिया रद्धगरी परिमार्जित व्यवस्था सहित नयाँ बोलपत्र आह्वान गर्न सिफारिस गरेको थियोे।

यसअघि विश्व बैंकले गत साउन १३ गते आयाेजनालाई पत्र लेख्दै हाल प्रयोगमा रहेको ई-जिपी प्रणालीको प्राविधिक त्रुटि तथा विश्वसनीयतामाथि प्रश्न उठाएकाे थियाे। बैंकले उठाएका विषयहरु प्रती समितिले समयमा चासाे देखाएन, सराेकारवाला पक्षसँग गम्भीर छलफल पनि गरेन।

बैंकले साउन १३ गते लेखेको पत्रमा केही बोलपत्रदाताले खरिद प्रक्रियामा नेपाल सरकारको ईजिपी प्रणालीसँग सम्बन्धित प्राविधिक समस्याका कारण प्रतिस्पर्धा पारदर्शी रूपमा हुन नसकेको भन्दै विश्व बैंकसमक्ष निवेदन दिएका थिए। बैंकले हालसम्मको प्रक्रिया पुनरावलोकन गर्दा सम्भावित प्रतिस्पर्धात्मकता, पारदर्शिता तथा लागत प्रभावकारितालाई ध्यानमा राखी पुनः प्राविधिक मूल्याङ्कन गर्ने वा पुनः बोलपत्र आह्वान गर्ने विकल्पलाई प्राथमिकता दिएको थियो।

विश्व बैंकले पठाएको पत्रलाइ समयमै “रेस्पाेन्स” गरेको भए, बैंकले औंल्याएका बुदाहरुमा छलफल चलाएको भए बैंकले खारेजीकाे पत्र नठाउने जानकारहरु वताउँछन। आयाेजनाकाे दाेश्राे प्याकेजमा सारभुतरुपमा प्रभावग्राही भएका वाेलपत्रदाताकाे खरिद प्रकृयालाई कसरी सहजीकरण गर्ने र आर्थिक प्रस्ताव खाेल्ने भन्ने विषयलाई हल्कारुपमा लिदा आयाेजना बर्षाै पछाडि धकेलिएको छ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना, वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाई अन्तर्गत कार्यान्वयन हुने भेरी पम्पिङ्ग उप-आयोजना, प्याकेज – २, Contract No: NP-DWSSM-508890-CW-RFB को खरिद प्रक्रियाको सन्दर्भमा मुख्य दातृ निकाय विश्व बैंकले गम्भीर प्रश्न उठाउदै पत्र पठाएको थियोे।

साउन १३ गते नै पत्र पाएकाे आयाेजना ईकाई चुपचाप बस्याे, कुनै छलफल र निर्णय गरिएन। साउन २३ गते वाेलपत्र रद्द गर्न पत्र आएपछि पनि कार्यान्वयन ईकाई तातेन। बोलपत्रकाे वैधता अवधि भदौ १ मा समाप्त हुने भएकाले ठोस निर्णयहरू लिन भन्दै आयोजना कार्यान्वयन समितिकाे बैठक अन्तिम समयमा बाेलाईयाे।

आयाेजना कार्यान्वयन ईकाईकाे बैठक सहजरुपले सम्पन्न हुन सकेन। आयाेजनालाई ध्वस्त पार्न लागेको भन्दै सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष एवम् समिति सदस्य कुलमणि देवकोटाले सदस्य सचिव एवम् आयाेजना प्रमुख रविन्द्र रायकाे बैठकमै साताे लिएका थिए। उनलेे बिश्व बैंकबाट आएकाे पत्र लुकाएर राखेकाे, यस्तो अवस्था सिर्जना हुँदापनि साउन २८ गतेसम्म जानकारी नगराएको भन्दै समिति अध्यक्षसंग पनि आक्रोश पाेखेकाे बैठकमा उपस्थित एक सदस्यले जानकारी गराए।

सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्षसमेत रहेका देवकोटाले टेण्डर खारेजीकाे निर्णयमा आफुले हस्ताक्षर नगर्ने भन्दै बिश्व बैंकसंग कुरा गर्नुपर्नेमा जाेड दिएको बैठकमा भएको छलफलबारे उनलेे उल्लेख गरे। विश्व बैंकसंग आफुले सम्पर्क गरेर आयाेजना स्वीकृत गराएकाेले वार्ताबाट निकास निकाल्न सकिनेमा देवकोटाले कुरा राखेको नाम उल्लेख नगर्ने शर्तमा उनले जानकारी दिए।

समितिकाे बैठक बस्याे। देवकोटालाई खबर नगरीकन बैठक बसेर जारी दाेश्राे प्याकेजका सम्पूर्ण खरिद प्रकृया खारेज गर्ने निर्णय गरियाे। दाेश्राे प्याकेज खारेजी सम्वन्धी सार्वजनिक सूचना भदौ १ गते प्रकाशित भैसकेको छ।

वाेलपत्र खारेज गर्ने बैठककाे अध्यक्षता मोहनमाया ढकालले गरेकी थिईन। बैठकमा उप प्रमुख निलकण्ठ खनाल, प्रमुख प्रशासकीय लक्ष्मी प्रसाद बाँस्कोटा, ईन्जिनियर यज्ञ कार्की, आयाेजना प्रमुख रविन्द्र राय र ​आमन्त्रितमा वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ लेखा अधिकृत सुशिल शर्मा, नगरपालिकाका ईन्जिनियर मायाराम शर्मा,​ रमेश चन्द्र अधिकारी प्यासी र निमित्त प्रसासकिय अधिकृत धीरेन्द्र शर्मा लम्साल रहेका थिए।

तालिममा काठमाडौं रहेका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद वास्काेटालाई बैठकमा काेरम पुर्‍याउन बाेलाईएकाे थियोे। एउटै बैठकमा बिदामा बसेका बास्काेटा र निमित्त प्रशासकीय अधिकृतकाे जिम्मेवारी लिएका धिरेन्द्रप्रसाद लम्साल सहभागी थिए।

मेयरकाे अध्यक्षता रहेको समितिले टेण्डर खारेज गर्न लागेको जानकारी पाएपछि गत साउन ३१ गते सुर्खेत उपत्यका खानेपानी संस्थाकाे बैठक बस्यो। बैठकले वाेलपत्र खारेजीले खानेपानी आयाेजना निर्माणमा ढिलाइ हुने भन्दै विश्व बैकले औंल्याएका त्रुटिहरु संशोधन गरेर अघि बढ्नुपर्ने निर्णय गरेको छ।

बैठकले आयाेजना निर्देशक व्यवस्थापन ईकाई काठमाडौं र आयाेजना ईकाई कार्यालय सुर्खेतलाई विश्व बैंठकले “नाे अब्जेक्शन लेटर” दिईसकेकाे अवस्थामा कमीकमजोरी सुधार गर्दै वाेलपत्र स्वीकृत गर्न अनुरोध गरेकाे छ।

बैठकले प्याकेज २ काे बाेलपत्र आह्वान गर्ने अन्तिम २०८२ चैत ६ गतेसम्म ७ वटा बाेलपत्र परेकाे, बैसाक २६ गते नाे अब्जेक्शनका लागि बिश्व बैंकलाई पठाईएकाे, जेठ १८ मा प्राप्त सुझाव र प्रतिकृयामाथि छलफल गरि संशोधित प्रतिवेदन पुन “नाे अब्जेक्शन”का लागि पठाईएकाे, बैंकबाट नाे अब्जेक्शन लेटर प्राप्त भएको उल्लेख गरेको छ।

यसरी सारभुत रुपमा प्रभावग्राही भएका वाेलपत्रदाताहरुकाे प्रचलित ऐन कानुन र नियमकाे परिधिभित्र रही कार्य सम्पादन भैरहेको अवस्थामा खरीद प्रकृया रद्ध गर्ने काम प्रती असहमति जनाएको छ। गत असार २६ गते बैंकले पठाएको नाे अब्जेक्शन लेटरमा पूर्ण सहमति जनाउदै प्राविधिक प्रस्ताव पास भएका वाेलपत्रदाताहरुलाई पत्राचार गरिसकेको अवस्थामा वाेलपत्र नै रद्ध गर्नुले आयाेजना निर्माणकाे समयावधि लम्विने र आयाेजनालाई थप आर्थिक भार पर्ने निष्कर्ष निकालेकाे छ।

गत असार २६ गते नगरपालिकाकाे आयाेजना कार्यान्वयन समितिकाे ३२ औं बैठकले भेरी पम्पिङ् उप आयाेजना प्याकेज २ काे प्राविधिक मुल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियोे।  समितिले प्याकेज २ काे बाेलपत्रहरुकाे प्राबिधिक मुल्यांकन प्रतिवेदन उपर विश्व बैक र आयाेजना व्यवस्थापन ईकाईवाट सहमति प्राप्त भएको हुँदा बाेलपत्र मुल्यांकन समितिले पेश गरेको संशोधित प्राविधिक मुल्यांकन प्रतिवेदनलाई स्वीकृत गर्ने, आर्थिक प्रस्ताव खाेल्ने तथा सूचना जारी गर्ने निर्णय गरेको थियोे।

भेरी नदिवाट लिफ्टगरि उपत्यकामा खानेपानी ल्याउने उद्देश्यअनुरुप पहिलो प्याकेजकाे सम्झौताअन्तर्गत हाल ईन्टेक, पानी प्रशाेधन केन्द्र, रिजर्भ वायर र ट्रान्समिशन लाईनका लागि  ३ अर्व ८० करोडकाे ठेक्का स्वीकृत भै काम भैरहेको छ। पहिलो प्याकेजकाे काम सकिन अझै डेढ बर्ष लाग्ने आयाेजना कार्यालयले जनाएको छ।

दोस्रो प्याकेजमा भने पुराना संरचनाको मर्मत–सुधारसँगै सुर्खेत उपत्यकाभित्र रहेको पुरानो वितरण प्रणालीलाई विस्थापन गरी करिब ६०० किलोमिटर नयाँ पाइपलाइन विस्तारमार्फत नियमित तथा सहज खानेपानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ।

आयाेजना प्रमुख रविन्द्र रायले भने बिश्व बैकले ई-विडिङ् सिस्टममा चाखाे राखेकाले पुरानो प्रकृया खारेज गरिएको वताए। छिटोभन्दा छिटाे अर्को प्रकृयाबाट सूचना निकाल्नेगरि काम भैरहेको उनको भनाइ छ। यसबारेमा प्रतिकृया लिन खाेज्दा वीरेन्द्रनगर नगरपालिकाका पूर्व प्रमुख एवम् नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले वाेलपत्र खारेज गर्ने निर्णय भएको सुनेको र यदि त्याे सत्य भए दुर्भाग्यपूर्ण हुने वताए। उनले के के भएको हाे साे वारेकाे सत्यतथ्य नगरपालिकाले बाहिर ल्याउनु पर्ने वताए।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार