२०८३ वैशाख ४ , शुक्रबार

फेरि सर्‍यो दसौं राष्ट्रिय खेलकुद, जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय



सुर्खेत । दुई पटक तोकिएको समयमा हुन नसकेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः तेस्रो पटक सरेको छ। यो चैत अन्त्यमा तय भएको मितिमा समेत प्रतियोगिता नहुने भएपछि यो वर्ष प्रतियोगिता नहुने भएको हो।

कर्णाली प्रदेशमा हुने तय भएको दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो।

यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। खासमा प्रतियोगिता गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना भइसक्नुपर्ने थियो। तर सरकारको प्राथमिक्तामा नपर्दा लगातार सर्दै आएको छ।

याे हेर्नुहाेस् – दसौँ राष्ट्रिय खेलकुद फेरि सर्ने निश्चित

त्यस्तै, बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ। निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन्। राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारबाहीस्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो।

सम्बन्धित समाचार –

कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अनिश्चित

रंगशाला निर्माणको जस लिने होडबाजी

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार