२०८३ जेठ १६ , शनिबार

आज कर्णालीसहित यी प्रदेशमा ‘भारी वर्षा’को सम्भावना



सुर्खेत । आइतबार देशका चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार