
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ स्थायी ठेगाना भई हाल सुर्खेतको वीरेन्द्रनगर–१२ चनौटे बस्ने वर्ष २४ का युवराज शाही रहेका छन् ।
उनलाई शनिवार राति बिहान साढे ९ बजेतिर लागूऔषध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुुढाथापाले जानकारी दिए ।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६४३ नम्बरको विद्युतीय गाडीलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट शुद्ध ९ ग्राम ३५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । शाहीलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको अधिकारी बुुढाथापाले जानकारी दिए ।