कर्णालीको प्रवेशद्वारकै बसपार्कको बिजोग, २ वर्षमा सक्नेमा तीन वर्षसम्म पनि अधुरै

कुलेन्द्र शाही
कुलेन्द्र शाही ३ आश्विन २०८२, शुक्रबार १७:१९

सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार हो, सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु । पूर्व–पश्चिम राजमार्गसम्म जोड्ने कर्णाली राजमार्गको धेरै खण्ड यसै पालिकामा पर्छ । सुर्खेत–जाजरकोट भेरी कोरिडोर पनि यसै नगरपालिकामा पर्छ । अन्य प्रदेशमा जान पनि छिन्चु हुँदै जाने गरिन्छ यस अर्थमा छिन्चु कर्णाली प्रदेशकै मुख्य द्वार पनि हो । तर प्रदेशकै महत्वपूर्ण सडक छिन्चुमा सुविधा सम्पन्न बसपार्क परै जाओस्, यात्रुका लागि प्रतीक्षालयलगायत सुविधासम्म छैनन् ।

अव्यवस्थित पार्किङ र सेवासुविधा नहुँदा यो बसपार्क कर्णालीकोे अनुहार होइन, समस्याको प्रतीक पनि बनेको छ । निर्माणाधीन बसपार्क पनि सुरुवातदेखि नै कछुवाको गतिमा अघि बढिरहेको छ । अलपत्र बसपार्कले बजारको सौन्दर्यता नै हराएको छ । बसपार्कको निर्माण समयमै नहुँदा यातायात व्यवसायीहरूले बस पार्किङको समस्या खेप्दै आएका छन् । निर्माणाधीन बसपार्कको काम छिटो नहुँदा स्थानीयहरू पनि आक्रोशित छन् ।

बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई सहजता हुने र भेरीगंगाको विकासमा समेत टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । तर कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाकासमेत रहेको छिन्चुमा बसपार्क नहुँदा व्यवसायीलगायत सर्वसाधारणलाई समेत निकै सास्ती खेप्नुपरेको छ । पार्किङको व्यवस्था नहुँदा बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ गर्ने गरिएको छ । समय क्रमअनुसार नयाँ सवारीसाधन थपिने तथा धमाधम नयाँ संरचना बन्न थालेपछि पार्किङको समस्या थप जटिल बन्दै गएको छ ।

यस अघिका समाचार पनि हेर्नुहोस् दुई महिनादेखि रोकियो छिन्चु बसपार्कको काम

छिन्चु बसपार्क निर्माण कार्य सुस्त गतिमा

ठेकेदारको ढिलाइले समयमै छिन्चु बसपार्क बन्नेमा आशंका

सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । बसपार्क नहुँदा सडक दायाँबायाँ, होटेल, स्थानीयका घरअगाडि सवारी पार्किङ गर्ने गरिएको छ । सुक्खामा धुलोले र बर्खामा हिलोले बसपार्क अस्तव्यस्त हुन्छ । यहाँ प्रत्येक दिन हजाराै संख्यामा सवारीसाधनको आवागमन हुने गर्छ । यातायात व्यवसायीहरूका अनुसार छिन्चु हुँदै दैनिक १० हजार यात्री ओहोरदोहोर गर्छन् । यति धेरै व्यस्त हुने भए पनि यात्रीका लागि कुनै सुविधा छैन । चालक र सहचालकहरूका लागि समेत यहाँ विश्राम गर्ने ठाउँ छैन ।

बसपार्कको काम तीन वर्षमा आधा

छिन्चुमा बसपार्क शिलान्यास गरेको करिब तीन वर्ष भयो । २८ मंसिर २०७९ मा तामझामका साथ शिलान्यास गरिएको बसपार्कको काम तीन वर्षसम्म पनि ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर डाँगीलगायतको उपस्थितिमा सो समयमा बसपार्कको शिलान्यास गरिएको थियो । शिलान्यास क्रममा नगरप्रमुख ढकालले निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिएका थिए ।

उनको निर्देशनको कुनै वास्ता नगरी निर्माण कम्पनीले तीन वर्षसम्म ५० प्रतिशत काम धौधौले पुर्‍याएको छ । बसपार्कको जिम्मा बाँकेको ग्रान्ड डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । सो कन्स्ट्रक्सनले २९ असार २०८१ सम्म निर्माण सम्पन्न गर्नेगरी ११ करोड ७६ लाख रकममा २०७९ असार ३० गते सम्झौता गरेको थियो । दुई वर्षमा सक्ने लक्ष्य राखेको कम्पनीले तीन वर्षमा पनि काम सम्पन्न गर्न नसकेपछि दुईपटक बढी म्याद थप भएको छ । कन्स्ट्रक्सनले हालसम्म काम गरेबापतको ३ करोड ८० लाख रकम भुक्तानी पाइसकेको छ ।

किन निर्माणमा ढिलाइ भयो ?

दुई वर्षमा सक्ने बसपार्कको काम तीन वर्षसम्म पनि सम्पन्न नहुनुमा नगरपालिका र निर्माण व्यवसायीको निकै लापरबाही देखिएको छ । निर्माण व्यवसायीले काम गर्दागर्दै बीचमै छोड्ने सम्पर्कविहीन बन्ने र काममा निकै ढिलासुस्तीले काम बसपार्क समयमै सम्पन्न हुन नसकेको नगरपालिकाका इन्जिनियर गणेश कार्कीले बताए । उनले नगरपालिकाले बारम्बार ताकेता गर्दा पनि व्यवसायीले काममा ढिलासुस्ती गरेको बताए ।

इन्जिनियर कार्कीले बसपार्कको डिजाइनमा समेत समस्या भएकाले पनि काममा केही ढिलासुस्ती हुन पुगेको बताए । उनका अनुसार केही समयमा रोकिएको बसपार्कको काम जेठयता तीव्र गतिमा भइरहेको छ । अबको मंसिरदेखि पुससम्म कम्पनीले बसपार्कको काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य लिएको इन्जिनियर कार्कीको दाबी छ । यता नगरपालिकाका प्रमुख ढकालले पनि बसपार्कको काम समयमै सम्पन्न हुन नसक्नु दुःखद भएको बताए ।

उनले आफूले निर्माण व्यवसायीलाई समयमै सक्न निर्देशन दिँदा पनि कम्पनीले अटेर गरेको बताए । उनले केही समयअघि निर्माण व्यवसायी सम्पर्क विहीन हुँदा नेपालगन्ज गएर खोजेर ल्याएको दाबी गरे । ‘निर्माण व्यवसायी सम्पर्क विहीन भयो, मैलें नेपालगन्ज गएर खोजेर ल्याएँ,’ नगर प्रमुख ढकालले भने, ‘जेठयता काम गरिरहेको छ तर जति तीव्र गतिमा गर्नुपर्ने हो त्यति हुन सकेको छैन ।’

उनले नगरपालिकाले बजेटमा कुनै कमी नगर्दा पनि यस निर्माण व्यवसायीले धेरै ठाउँमा कामको जिम्मा लिएको र अन्य ठाउँको काममै व्यस्त हुँदा यहाँको बसपार्कको काममा ढिला गरेको बताए । नगरप्रमुख ढकालले यस चालु आर्थिक वर्षमा बसपार्कको काम सकेर हस्तान्तरण गर्न लगाउने बताए ।

दुई महिनादेखि रोकियो छिन्चु बसपार्कको काम

छिन्चु बसपार्क निर्माण कार्य सुस्त गतिमा

ठेकेदारको ढिलाइले समयमै छिन्चु बसपार्क बन्नेमा आशंका

Next Post

दसैँका लागि १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा कर्णाली बाहिर

३ आश्विन २०८२, शुक्रबार १७:१९
सुर्खेत । आगामी दसैँ पर्वका लागि मुस्ताङ हुँदै अहिलेसम्म १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्लामा पठाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट ल्याइएका च्याङ्ग्रासहित मुस्ताङकै किसानका करिब ६ हजार ६ सय भेडाच्याङ्ग्रा बाहिर पठाइएको हो । पशु चिकित्सक डा. लालमणि […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031