
सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम करिब २ महिनादेखि रोकिएको छ । भेरीगंगा नगरपालिका १२ छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम रोकिएकोले व्यवस्थित रुपमा पार्किङ गर्ने सडकमै टिकट काट्नुपर्ने वाध्यता लम्बिने आशंका बढेको छ ।
भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँङ्गी लगायतको उपस्थितिमा २८ मंसिर २०७९ मा तामझामका साथ बसपार्कको शिलान्यास गरिएको थियो ।
तर, शिलान्यास गरेको केही महिनामै बसपार्कको काम रोकिएको भेरीगंगा १० का एक स्थानीयले खबरदुष्टिलाई जानकारी दिए । ग्राण्ड डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालि बाँकेले उक्त बसपार्कको जिम्मा लिएको थियो । जिम्मा लिएको निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि बसपार्क निर्माणको काम रोकिएको हो ।
यता, भेरीगंगा नगरपालिकाका इन्जिनियर विजय केसीले बसपार्कको काम केही समय अगाडि रोकिएको भएपनि निर्माण व्यवसायी अहिले सम्पर्कमा आइसकेको जानकारी दिएका छन् । उनले निर्माण व्यवसायी केही महिना सम्पर्कविहीन भएको र आईतवार मात्रै आफ्नो सम्पर्कमा आएको जानकारी दिए ।
नगरप्रमुख ढकालले भने बसपार्कको काम रोकिएको स्वीकार गरेका छन् । निर्माण व्यवसायी नगरपालिकाको सम्पर्कविहीन भएको हुँदा बसपार्कको काम रोकिएको बताउँदै अबको केही दिनमा काम सुरु हुने उनले बताए। शिलान्यासको समयमा नगरप्रमुख ढकालले बसपार्क निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।
तर शिलान्यास गरेको केही समयमै काम रोकिएपछि विभिन्न टिका टिप्पणी सुरु भएको छ । छिन्चुमा निर्माणाधीन छिन्चु बसपार्क २९ असार २०८१ सम्म निर्माण सम्पन्न गर्ने गरी ग्राण्ड डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालि बाँकेले जिम्मा पाएको छ । नगर विकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौता गरी कुल १० करोड ९५ लाख रुपैयाँको लागतमा उक्त बसपार्कको काम सुरु भएको थियो ।
नगरपालिकाका इन्जिनियर केसीका अनुसार बसपार्क २ दशमलव १५ हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको हो । बसपार्कमा तीन तले भवन, तीन वटा गेट, टिकट काउन्टर र विभिन्न पसलहरू सञ्चालन गर्न सकिने छ । बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई सहजता हुने र भेरीगंगाकोे विकासमा समेत टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका समेत रहेको छिन्चुमा बसपार्क नहुँदा व्यवसायी लगायत सर्वसाधारणलाई समेत सास्ती भएको छ । पार्किङको व्यवस्था नहुँदा बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ गर्ने गरिएको छ ।
समयक्रम अनुसार नयाँ बस थपिने तथा धमाधम नयाँ संरचना बन्न थालेपछि पार्किङको समस्या थप जटिल बन्दै गएको छ । सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ ।
बसपार्क नहुँदा सडक दायाँबायाँ, होटेल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ गर्ने गरिएको छ । सडकको दायाँ र बायाँ किनारमा सवारी साधन पार्किङ गरिएका कारण हिँडडुल गर्न अप्ठ्यारो हुने गरेको स्थानीयहरूको गुनासो छ ।