
सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघरमा जडान गरिएका घडीहरु ३५ वर्षपछि हटाएर नयाँ घडी जडान गर्न लागिएको छ । ३ वर्षअघि परेको चट्याङले आगलागी भई सम्पूर्ण पार्टपुर्जा जलेपछि घण्टाघरका घडीहरु पूर्णरुपमा बन्द भएका थिए । वीरेन्द्रनगर नगरपालिकाले १२ लाख रुपियाँको लागतमा नयाँ घडी जडान गर्न लागेको हो ।
यस अघि पनि कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट नयाँ घडी परिवर्तन गर्न लगातार २ वर्ष आएको बजेट नगरपालिकाले फ्रिज गरेको थियो ।
चौतर्फी दवावपछि घण्टाघरको घडीहरु परिवर्तन गर्न वीरेन्द्रनगर नगरपालिका बाध्य भएको थियो । पुराना घडीहरू मर्मतसम्भार हुन नसकेपछि भारतबाट नयाँ घडी ल्याएर जडान गर्न लागिएको हो ।
नयाँ घडी जडान गर्न प्राविधिक टोलीले घण्टाघरका पुराना घडीलाई विस्थापित गरी नयाँ जडानको तयारी सुरु गरिसकेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिए ।
घण्टाघरको घडीको सुई विगत ३ वर्षदेखि रोकिएको छ । २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको सुईले स्थानीयलाई समयको जानकारी दिने गरेको थियो ।
घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका थिए । कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको घण्टाघर सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो ।