भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी विकास निर्देशनालयको आयोजनामा सुर्खेतकाे वीरेन्द्रनगरमा स्थानीय तहसँगकाे समन्वयात्मक बैठक सम्पन्न भएको छ।
साेमबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रमलाई सम्वाेधन गर्दै मन्त्री शर्माले जनप्रतिनिधिहरुलाई पार्टीगत नभई जनताको पक्षमा लाग्न आग्रह गरे । उनले बजेट विनियोजन गर्ने क्रममा आफ्नो पार्टी भएको क्षेत्रमा धेरै बजेट छुट्याउने प्रचलन भएको हुँदा त्यस्तो प्रवृतिलाई हटाएर जुन क्षेत्रमा बजेटकाे आवश्यक्ता छ त्यही क्षेत्रमा बढी बजेट विनियोजन गर्न आग्रह गरे ।
मन्त्री शर्माले पछिल्लोसमय कृषि पेशा महत्वपुर्ण पेशा भएकोले यसलाई सकेसम्म थप प्रभावकारी बनाउनुपर्नेमा जाेड दिए। उनले काम गरिरहेका कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गरे।
उनले जसले राम्रो काम गरेको छ, त्यसले सरकारबाट अनुदान नै नपाएको ठाेकुवा गरे। काम विनाको कागजपत्र देखाएर अनुदान लिने गरेको पाईएकाेले त्यसलाई निरुत्साहित गरि राम्रोसँग बुझेर काम गरिरहेको कृषकलाई प्रोत्साहित गर्नुपर्ने बताए।
मन्त्री शर्माले काम गरेपछि मात्रै अनुदान पाईदाे रहेछ भन्ने भावनाकाे विकास गर्नुपर्नेमा जाेड दिए।
पशुपन्छी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म निर्देशनालयले गरेको उपलब्धी र समस्याहरुकाे जानकारी गराएका थिए ।
उनले दाना उद्योग पूर्वाधारमा सहयोग गरेकाे, कर्णाली प्रदेशमा भैसीको संख्या न्यून भएकोमा हाल भैसीको संख्या र दुध उत्पादनमा बृद्धि भई दैनिक १५,००० लिटर जिल्ला बाहिर निकासी भैरहेकाे, कर्णाली प्रदेशमा ब्रोइलर कुखुराको ह्याचरी स्थापना भई ब्रोइलर कुखुराको चल्ला उत्पादन भैेरहेकाे जानकारी थिए ।
पंगेनीले कार्यक्रम सञ्चालन गर्दा प्राविधिक जनशक्तिकाे अभाव, स्थानीय, प्रदेश र संघिय सरकार वीच कार्य संचालनमा एकरुपता नहुनु, तीन सरकार वीच नीतिगत रुपमा समन्वय र सहकार्य नहुनु, थ्री फेज लाईन विद्युतको अभावको कारण शित भण्डार संचालनमा समस्या, दुग्ध चिस्यान केन्द्र र साना उद्योग जस्ता पूर्वाधारहरु संचालनमा कठिनाई, कृषि सम्बन्धि गैरकर राजस्व कायम नभएको, प्रदेशको लागत साझेदारी कार्यक्रममा पालिकाहरुले वजेट विनियोजन नगर्नु, उच्च शिक्षा अध्ययनको लागि कर्मचारी छात्रवृती सम्बन्धी नीतिगत अस्पष्टता, प्रदेश निजामती सेवा ऐन नहुनु जस्ता समस्याकाे बारेमा अवगत गराएका थिए। पंगेनीले निर्देशनालयका भावी योजनाहरुको बारेमासमेत जानकारी गराएका थिए ।
उनलेे निर्देशनालयले प्राङ्गारिक कृषि तथा पशुजन्य पदार्थकाे उत्पादन वृद्धि गराउने, अनुदानहरु क्रमश घटाउँदै उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रमहरुलाई प्राथमिकता दिने, व्याज अनुदानका कार्यक्रमहरुलाई सवलीकरण गर्ने, प्राविधिकहरुको दरवन्दी समयानुकुल वढाउदै कृषकहरुमा स्तरिय प्राविधिक सेवाको पहुँच वढाउने र भएका प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका कार्यक्रम लागु गर्नुपर्ने याेजना सार्वजनिक गरे।
उनलेे कर्णाली प्रदेशमा कृषि, पशुपन्छी तथा मत्स्य विकासका कार्यक्रमहरु परियोजनाको रुपमा अगाडी वढाउने, अनुदान कार्यक्रमलाई विस्तारै घटाउँदै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई आगामी दिनमा जोड दिने कार्यक्रम राखेको बताए ।
कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले लेकवेसीकाे वडा नं २ र ५ बाख्राका लागि उपयुक्त क्षेत्र भएकोले आगामी वर्ष उक्त क्षेत्रलाई बाख्राको पकेट क्षेत्र घोषणा गर्नुपर्नेमा जाेड दिए। उनले बाख्रा पकेट क्षेत्रको लागि नगरपालिकाले बजेट छुट्याउने प्रतिवद्धतासमेत जनाए। लेकवेशीमा भयावह बन्दै गएको रेविज अहिले नियन्त्रणमा आईसकेकाे दाबी गरे ।
सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले सिम्तामा बाख्रा प्रबर्धन कार्यक्रम सुरुगर्ने योजना पालिकाले बनाएको खुलासा गरे। उनलेे सिम्तामा भएका खसी र बाख्रा काठमान्डौ, बुलवल, नेपालगञ्जसम्म निर्यात हुने गरेको दावी गरे ।
बराहताल गाउँपालिका अध्यक्ष भिम भण्डारीले कृषक र प्राविधिकलाई वेलावेलामा उपयुक्त तालिम दिन सकेमा कृषकलाई सहज हुने बताए ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले चौकुने गाउँपालिका कृषिको लागि उर्वर क्षेत्र भएको दावी गरे । उनले चौकुनेमा जुम्ला र तराईका भेडा पाल्ने सकिने उल्लेख गरे। उत्पादित कृषि उपजकाे लागि बजारीकरणको समस्या भएको बताउँदै चौकुनेमा हाल १ सय ६५ जनाले बाख्रा पालन गरिरहेकाे तथ्याङ्क पेश गरे। उनलेे हालसम्म पनि कुनै सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे ।
यस्तै, वीरेन्द्रनगर नगरपालिकाका पशुसेवा शाखाका प्रमुख यज्ञ पाण्डेले आगामी वर्षकाे कार्यक्रमबाट पशुपन्छी हाट बजार स्थल बनाउन आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गरे। उनलेे ५० लाख बजेट भए हाट बजार स्थल बनाउन सकिने जानकारी दिए।
कार्यक्रममा भेरीगंगा नगरपालिकाका पशुशाखा प्रमुख भोजप्रसाद चपाईले भेरीगंगामा ४ वटा डेरी र १८ वटा दुग्ध संकलन केन्द्र भएको जानकारी दिदै कृषकहरुले भने जस्तो मुल्य नपाएको जानकारी दिए।
कार्यक्रममा सुर्खेतका विभिन्न पालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु उपस्थित रहेको थियो। कार्यक्रम पशुपन्छी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीको अध्यक्षता र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे।