जगदिश शाही
सुर्खेत । अर्बौं रुपैयाँ लगानी गरेर अघि बढाइएको पेट्रोलियम अन्वेषण अलपत्र पर्न नदिन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारलाई आग्रह गरेका छन्। अन्वेषणका क्रममा प्रयोग भइरहेका उपकरण नै प्रयोगविहीन भएर खिया लाग्ने अवस्था आउन लागेकोले तत्काल संघ सरकारलाई घच्घच्याउन आवश्यक रहेको प्रमुख जोशीको भनाइ छ।
संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै जोशीले पेट्रोलियम अन्वेषणलाई निष्कर्षमा पुर्याएर सम्भावित प्राकृतिक स्रोतको उपयोग गर्ने दिशामा सरकार गम्भीर हुनुपर्ने बताए। प्रदेश प्रमुख जोशीले लामो समयदेखि खेर गइरहेको प्राकृतिक ग्यासलाई सम्भावित ऊर्जा स्रोतका रूपमा उपयोग गर्नेतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताए। स्थानीय प्राकृतिक स्रोतको उपयोगबाट उत्पादन र रोजगारी बढाउन तथा आयातित इन्धनमाथिको निर्भरता घटाउन सकिने उनको भनाइ छ।
उनले पेट्रोलियम अन्वेषणलाई निरन्तरता दिन प्रदेशस्तरमा दबाब समूह गठन गरेर संघ सरकारलाई खबरदारी गर्नुपर्ने प्रस्तावसमेत अघि सारे।
अर्बौं रुपैयाँ लगानी गरेर अन्वेषण सुरु गर्ने अनि त्यसलाई अलपत्र छाड्ने अवस्था आउनु हुँदैन, जोशीले भने, यसका लागि प्रदेशले संघीय सरकारलाई दबाब दिनुपर्छ।
नेपाल र चीनबीचको सहकार्यमा अघि बढाइएको परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा चार हजार मिटरभन्दा बढी गहिराइसम्म ड्रिलिङ भइसकेको छ।
ड्रिलिङबाट संकलन गरिएका नमुना परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट पनि चीनले यसअघि नै पठाइसकेको छ। नमुना परीक्षणपछि त्यहाँ रहेको पेट्रोलियम तथा प्राकृतिक ग्यासको भण्डारण र त्यसको गुणस्तर बारे अध्ययन गरी व्यावसायिक उत्पादनका लागि थप निष्कर्षमा पुग्न बाँकी छ।
दैलेखमा पेट्रोलियमको सम्भावना देखिए पनि हालसम्म व्यावसायिक रूपमा पेट्रोलियम उत्पादन सुरु भएको छैन। अन्वेषणबाट प्राप्त नमुना परीक्षण, सम्भावित भण्डारणको अवस्था तथा आर्थिक र प्राविधिक सम्भाव्यता अध्ययनपछि मात्रै उत्पादनबारे निर्णय हुने बताइएको छ।
दैलेखका शिरस्थान, नाभिस्थानलगायत क्षेत्रमा वर्षौंदेखि जमिनबाट प्राकृतिक ग्यास निस्कने र ज्वाला बल्ने गरेको छ। यिनै प्राकृतिक संकेतका आधारमा जिल्लामा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना खोजी अघि बढाइएको थियो ।