२०८३ असोज २ , शुक्रबार

एक दिने संसदीय बहस, सिक्दै विद्यार्थी



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विद्यार्थीहरूलाई एक दिने संसदीय बहस प्रशिक्षण प्रदान गरिएको छ । संसदीय मामिला पत्रकार समाजको आयोजना तथा युएनडिपी संसद् सहयोग परियोजनाको सहकार्यमा उक्त प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड मानिने संसदीय गतिविधि र खुल्ला संसद्को बारेमा समेत सत्रहरू सञ्चालन गरिएको थियो । सुर्खेत बहुमुखी क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवातमै कर्णाली प्रदेश सभा सचिवालयका शाखा अधिकृत राजेन्द्र पौडेलले प्रदेश सभाको संरचना, संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया र खुल्ला संसद्का बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।अधिकृत पौडेलले सदन भनेको जनताको सार्वभौम थलो भएकाले पनि युवा र विद्यार्थीहरूले पनि चनाखो भएर संसदीय गतिविधि प्रति चासो राख्नु पर्नेमा जोड दिए ।

‘संसद् भनेको जनप्रतिनिधिहरूको जहाँ कानुन निर्माण, नीति निर्माण तथा सरकारको कामको अनुगमन गरिन्छ’ उनले भने ‘सरकारलाई उत्तरदायी बनाउने, बजेट पारित गर्ने र जनताको आवाज उठाउने ठाउँ भएकाले पनि तपाईँहरूले चासो दिन आवश्यक छ ।

कार्यक्रममा डिबेट नेटवर्क नेपाल ९डीएनएन०का कर्णाली प्रदेश संयोजक मनोज एमसीले विद्यार्थीहरूलाई संसदीय बहसका बारेमा प्रशिक्षण दिएका थिए । संसदीय बहसले युवाहरूमा आलोचनात्मक चेत निर्माण गर्नुका साथै समाजलाई बुझ्ने, अन्यायविरुद्ध प्रश्न गर्ने र सामूहिकतामा काम गर्न सहयोग गर्ने प्रशिक्षक एमसीले बताए ।

प्रशिक्षण पश्चात् विद्यार्थीहरूले नमुना संसदीय बहस समेत गरेका थिए । ‘यो सदन खुल्ला संसद् हुनुपर्छ भन्ने विश्वास गर्दछ’ भन्ने मोसनमा उनीहरूले सत्ता र प्रतिपक्षी बनेर बहस गरेका थिए । सत्ता पक्षले खुल्ला संसद्को अवधारण लागु गर्नुपर्ने अवधारणा राख्दै गर्दा प्रतिपक्षीले त्यसको विपक्षमा बहस गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले ‘ब्रिटिस संसदीय बहस’ प्रणालीको खुलेरै प्रशंसा गरे । छोटो समयको सिकाइमा पनि विद्यार्थीहरूले उत्कृष्ट बहस गरेको उनको भनाई थियो ।

‘अधिकांश नमुना संसदीय बैठकमा नेताहरू माथि प्रश्न नै प्रश्न उठाएको देखिन्थ्यो’ उनले भने  ‘यसमा उनीहरू स्वसंयम सत्ता र प्रतिपक्षी बनेर बहस गरे । प्रश्न मात्र होइन उत्तर पनि खोलेर ल्याएको देखियो । यो आफैमा रोचक लाग्यो । सभापति खत्रीले विद्यार्थीहरूलाई संसदीय गतिविधिमा चासो र निगरानी राख्न आग्रह समेत गरे । ‘कर्णाली प्रदेश सभाले खुल्ला संसद्को अवधारण ल्याएको छ’ सभापति खत्रीले भने, तपाईँहरू पनि त्यहाँ आएर हेर्न, नजिकबाट बुझ्न सक्नु हुनेछ ।

संसद् कानुन बनाउने संस्था मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले पनि युवाहरूले संसदीय गतिविधि बुझ्न र चासो लिन आवश्यक रहेको संसदीय मामिला पत्रकार समाजका अध्यक्ष देव रानाले बताए ।

‘लोकतन्त्र तब मात्र सुदृढ हुन्छ, जब नागरिक र संसदबीच विश्वास, संवाद र सहकार्यको सम्बन्ध बलियो हुन्छ’ अध्यक्ष रानाले भने  ‘त्यसैले तपाईँहरूको सहभागिता आवश्यक छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य तुलसा मल्ल, युएनडिपी संसद् परियोजना कर्णाली तथा सुदूरपश्चिम प्रदेश प्रतिनिधि क्यारीना श्रेष्ठ र सुर्खेत बहुमुखी क्याम्पस विद्यार्थी परिषद्का प्रमुख डम्बर खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार