सिरहा ।
प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट सिरहामा १०५ किलो गाँजा बरामद भएको छ। बरामद एम्बुलेन्स धनुषाको नगराइनस्थित ‘माँ सहयोगी संस्था’को रहेको खुलेको छ। चालक भने एम्बुलेन्स छाडेर फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज१च १२१३ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो।
गाँजा बरामद गर्ने क्रममा एम्बुलेन्स र चालकको पहिचान खुलेको थिएन। घटनाबारे अनुसन्धान गर्दै जाँदा उक्त एम्बुलेन्स धनुषाको नगराइनस्थित माँ सहयोगी संस्थाको रहेको खुलेको एसपी पाठकले बताए।
संस्थाले सिरहाको मिर्चैया नगरपालिका–बगहा घर भएका सितेन मण्डललाई चालक राखेर एम्बुलेन्स सञ्चालन गर्न दिएको जनाएको छ। प्रहरीले संस्थालाई एम्बुलेन्स र चालकसँग सम्बन्धित सम्पूर्ण कागजात जिल्ला प्रहरी कार्यालयमा पेश गर्न भनेको छ।
कागजात अध्ययन गरेपछि मात्रै थप कानुनी कारबाहीबारे निर्णय गर्न सकिने एसपी पाठकले बताए। ‘व्यक्तिसँग कस्तो सम्झौता, कसरी र कुन आधारमा गरिएको थियो भन्ने विषय पनि कागजात अध्ययन गरेपछि मात्रै भन्न सकिन्छ’, उनले भने।
प्रहरीका अनुसार एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा टोली परिचालन गरिएको थियो। प्रहरीको निगरानी थाहा पाएपछि चालकले चोहर्वादेखि सिरहासम्म तीन स्थानमा राखिएका प्रहरीका ब्यारिकेड तोडेर एम्बुलेन्स भगाएका थिए।
प्रहरीले थप टोली परिचालन गरी पछ्याउने क्रममा चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर फरार भएको जनाएको छ।
त्यसपछि एम्बुलेन्स जाँच गर्दा पाँचवटा बोराभित्र लुकाएर राखिएको अवस्थामा १०५ किलो गाँजा बरामद भएको एसपी पाठकले जानकारी दिए। बरामद गाँजासहित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।
फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स सञ्चालनका लागि संस्था र चालकबीच भएको सम्झौता, चालकको जिम्मेवारी तथा अन्य कागजात अध्ययन गरेपछि घटनामा कसको संलग्नता र कस्तो कानुनी कारबाही अघि बढाउने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ।