
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो ।
१२८ रनको लक्ष्यमा जवाफी ब्याटिङ थालेको जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि लाहिरु मिलन्थाले उत्कृष्ट अर्धशतक पारी खेले । उनी ५३ बलमा ७५ रन बनाउँदै अविजित रहे । अलराउन्डर हर्ष थाकेरले २९ रन बनाए । कप्तान अनिलकुमार साहले ५ रन बनाए ।
विराटनगरका लागि क्रिश सोल र प्रतिश जिसीले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो । विराटनगरका लागि ओपनर मार्टिन गप्टिलले ५५ रन बनाए । सो क्रममा उनले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । यो एनपीएलको पहिलो अर्धशतक हो ।
अर्का ओपनर लोकेश बमले ५ रन बनाउँदा तेस्रो नम्बरमा आएका अकिब इलियासले १५ रन बनाए । कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिँदा किशोर महतो र हर्ष थाकेरले २र२ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले एकरएक विकेट लिए ।