सुर्खेत । बाग्लुङको निसीखोला गाउँपालिका वडा नं ६ मा सोमवार साँझ भएको बस दुर्घटनामा एक जना पत्रकारको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका छन् । परियार अन्नपूर्णपोष्ट दैनिकको रुकुम संवाददाताका रुपमा कार्यरत थिए ।
उनी नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रूकुमपूर्वको सह–सचिव हुन् । परियारसहित दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ । जसमा बसधनी मुसीकोट–२ रातामाटाका बबी ददेल नेपाली र चालक रोल्पा घर भएका सुवास गौतम भनिने मानसिंह विक रहेका छन् ।
यसैगरी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुमपश्चिम मुसीकोट–१ की २७ वर्षीया विनिता केसी, मुसीकोट–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसीकोट प्रेस सेन्टर नेपाल रूकुम पूर्वका उपाध्यक्ष थिए । नेपाल पत्रकार महासंघ रुकुम पुर्व शाखाको सह–३ साँखकी कल्पना केसी, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जनको दुर्घटनामा परी मृत्यु भएको हो ।
सात जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका–१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा–३ का ६५ वर्षीय हर्कबहादुर केसी घाइते भएका छन् ।
यस्तै बोतलिवाङ–७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका–८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ–११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
यस्तै, रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का घाइते भएको उनले बताए ।
उनकाअनुसार १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका–३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन् । घाइतेमध्ये २० जनाको धौलागिरि अस्पताल बागलुङ र पाँच जनाको मणिपाल अस्पताल पोखरा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।