२०८३ भदौ ६ , शनिबार

पूर्व मुख्यमन्त्री कार्कीले दिए अनशन बस्ने चेतावनी



विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ४८ घण्टाभित्र आफ्ना माग पूरा नगरे अनशन बस्ने चेतावनी दिएका छन्। आफ्नो कार्यकालमा शुरू भएका जनहितकारी योजनाहरू वर्तमान सरकारले रोक्दै आएको आरोप लगाउँदै उनले अनशन बस्ने चेतावनी दिएका हुन्।​

आइतबार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पूर्व मुख्यमन्त्री कार्कीले प्रदेशका १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंसेवीहरूलाई प्रोत्साहन भत्ता, शैलजा आचार्य मुटु रोग उपचार केन्द्रको सञ्चालन र सुनसरी-मोरङका चार पालिकालाई बाढीबाट जोगाउन केसरिया करिडोर निर्माणको कामलाई पुनः शुरू नगरे अनशन बस्ने घोषणा गरेका छन्।

उनले वर्तमान सरकारमाथि जनहितकारी कार्यक्रमहरूमा कटौती गरी जनविरोधी काम गरिरहेको आरोप लगाएका छन्। कार्कीले यसबारे ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घण्टाभित्र आफ्नो माग पूरा नभए प्रदेशसभा परिसरमा कात्रो लिएर अनशन बस्ने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘जनजीविका केन्द्रित कार्यक्रमहरूलाई सरकारले बेवास्ता गरिरहेको छ र म आफ्नो अडानबाट पछि हट्दिन। जनताको हितका लागि म मृत्युलाई पनि अंगाल्न तयार छु।’

पूर्व मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसको प्रदेश समिति र केन्द्रीय समितिलाई पनि आफ्नो अनशनबारे जानकारी गराइसकेका छन्। कोशीमा हाल एमालेको नेतृत्वमा सरकार रहेको भए पनि निकट भविष्यमा नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने तयारीमा छ।

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार