२०८३ वैशाख ३ , बिहीबार

कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डाक्टर हरि सापकोटाको निधन



सुर्खेत १५ असोज

कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डाक्टर हरिप्रसाद सापकोटाको कोरोना संक्रमणका कारण मृत्यृ भएको छ ।
गत भदौ २९ गते प्रदेश अस्पताल कालागाउमा कोभिड–१९ को उपचारमा भर्ना भएको र उनलाई स्वास–प्रस्वासमा समस्या देखिएकोले गत असोज १ गते भेरी अञ्चल अस्पतालको कोभिड बिशेष आइसोलेसन वार्डमा भर्ना गरि थप उपचार गरिएको थियो ।
डाक्टर सापकोटा डायबेटिजको निम्ति इन्सुलिन र उच्च रक्तचापको निम्ति नियमित औषधि लिईरहेको व्यक्ति भएतापनि अस्पतालमा भर्ना हुँदा उनको सुगर नियन्त्रणमा नभएको भेरी अञ्चल अस्पताल बाँकेले बिहीबार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएकोे छ ।
भेरी अस्पतालका अनुसार मृतक सापकोटाको सुरुमा अक्सिजन, ब्लड सुगर नियन्त्रणको निम्ति बिभिन्न किसिमका इन्सुलिन र       एन्टिबायोटिकमा राखिएको थियो । साथै, उनमा अक्सिजन स्याचूरेसन मेन्टेन नभइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले सबै उपायहरु अपनाउदा पनि सुधार नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत थप सुविधा सम्पन्न ठाउँमा पठाउने तयारी भैरहेको उल्लेख गर्दै विज्ञप्तीमा अक्सिजन स्याचूरेसन निकै कम भएकोले पठाउने क्रममा कुनै दुर्घटना हुने संभावना देखिएकोले पठाउन नसकिएको स्वीकार गरिएको छ ।
सबै प्रयासका वावजुद पनि उनको फोक्सोमा सुरुमा निमोनिया र सोको परिणाम स्वरुप ‘सेभर एक्युट रेस्पेरोटोरी डिस्ट्रेस सिन्ड्रोम’ बिकास भई अक्सिजन स्याचुरेसन घट्दो रहेकोले बिहीबार बिहान ६ बजे कृत्रिम स्वास प्रस्वास प्रणालीमा राखिएको उल्लेख गरिएको छ ।
डाक्टर सापकोटाको बिहीबार नै करीब १२ बजे मुटुको चाल बन्द भएको र अस्पतालले उनलाई ‘कार्डियो पल्मोनरी रेसुसेयसन’ गरि व्यूँताउन सफल भएको विज्ञप्तीमा जनाईएको छ । अस्पतालले धेरै प्रयासका बावजुत पनि अन्ततोगत्वा ‘इरिभर्सिवल कार्डिक एरेस्ट’ भई दिउसो ३ः३० बजे डाक्टर सापकोटालाई मृत घोषणा गर्नु परेको उल्लेख गरेको छ ।

सापकोटाले गरेको योगदानको उच्च मुल्याङ्कन
यसैविच डाक्टर हरिप्रसाद सापकोटाको कोरोनाको कारण निधन भएको प्रति कर्णाली प्रदेशको कोभिड विपत व्यवस्थापन समितिको बिहीबार बसेको आकस्मिक बैठकले दुःख प्रकट गरेको छ । कानुन तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको बैठकले डाक्टर सापकोटाले प्रदेशमा कोभिड व्यवस्थापन गर्न पु¥याएको योगदानप्रति उच्च मूल्याङ्कन गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रदेशमा चिकित्सकीय सेवा र कोभिड रोकथाम प्रतिकार्यमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
बैठकले कोभिड प्रकोप व्यवस्थापनमा खटिएका चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सुरक्षा निकायका राष्ट्रसेवकहरु, सञ्चारकर्मीहरु लगायत कोभिड प्रकोप नियन्त्रणसंग सम्वद्ध प्रदेश सरकारका सबै अग्रपंक्तिका सेवा प्रदायक र सहयोगीहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा उच्च मनोवलका साथ कोभिड प्रतिकार्य र रोकथामका लागि निरन्तर खटिरहन अनुरोध समेत गरेको छ ।

एक परिपक्व र आदरणीय सदस्य गुमाउदा पीडाबोधः मन्त्री दल रावल
डाक्टर हरिप्रसाद सापकोटाको कोभिड–१९ का कारण भएको निधनप्रति कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले दुःख प्रकट गरेका छन् ।
मन्त्री रावलले बिहीबार एक फेसबुक स्टाटस लेख्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. हरि सापकोटाको निधनवाट कर्णाली प्रदेशलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । उनले जनताका विश्वासिला चिकित्सक र सामाजिक विकास मन्त्रालयका एक परिपक्क र आदरणीय सदस्य गुमाउनुपर्दा अत्यन्त पीडाबोध भएको भन्दै वरिष्ठ चिकित्सक स्वर्गीय डा. सापकोटाले कर्णाली प्रदेशमा पु¥याएको चिकित्सकीय योगदान र कर्णालीवासीलाई लगाएको अविस्मरणीय गुन प्रति प्रदेश सरकारले सदैव सम्मान र स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री रावलले जनताको सेवामा अहोरात्र समर्पित हुँदै कोभिडको प्रकोपबाट जीवन आहुती गरेका डा.सापकोटा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहीबार