काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड हुँदा करिव १० करोड बराबरको क्षति भएको छ ।नेपाली कांग्रेसका सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले क्षतिको प्रारम्भिक विवरणको जानकारी दिंदै केन्द्रीय कार्यालयमा आगजनी र तोडफोडले संरचनाहरु ध्वस्त अवस्थामा रहेको जानकारी दिएका हुन्।
उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आतंककारीहरुले जलाएर ध्वस्त पारिएको छ । कुनैपनि सामान बचेको छैन । करिव रु १० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।’ उनले प्रस्तुत गरेको क्षति विवरण अनुसार सभापति शेर बहादुर देउवा र केन्द्रिय सदस्य डा.आरजु राणा देउवाको निवास बुढानिलकण्ठमा रहेको घरमा आगजनी, तोड्फोड, लुटपाट गरी घरमा रहेका सभापति देउवा र आरजु राणाप्रति अमानवीय बर्बर्तापूर्ण सांघातिक भौतिक आक्रमण भएको थियो ।
आरजु राणा देउवाको नाममा रहेको कैलाली जिल्ला धनगढी उपमहानगरपालिका स्थित घरमा समेत आगजनी तोडफोड गरी भवन रहेको स्थानको जमिन वाहेक केही पनि बाँकी नरहेको अवस्था छ ।