सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जी आन्दोलनपछि वडा कार्यालय आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्षहरूसँग छलफल गरेका छन्। आन्दोलनमा नगरपालिकाका १देखि १२ वडासम्मका कार्यालयहरू आगजनी र तोडफोड गरिएपछि ती वडाहरूले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन्।
मुख्यमन्त्री कँडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राहीसहित वडा अध्यक्षसँग छलफल गरेका थिए। वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेन-जी आन्दोलनका कारण ध्वस्त भएका कारण असोज ५ गतेदेखि वडाका नागरिकले सहज रूपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको थियो।
आज स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले वडा कार्यालयका संरचना आगजनी र तोडफोडपछि सेवा प्रवाहबारे भइरहेको असुविधाबारे वडा अध्यक्षहरूसँग छलफल गरेका थिए। मुख्यमन्त्री कँडेलले अव अवस्था सामान्कृत हुँदै गएकोले एक थान कम्प्युटर राखेर जलेकै भवनबाट भए पनि सेवा प्रवाह गर्न सुझाव दिएका छन् ।
मुख्यमन्त्री कँडेलले छलफल क्रममा भने, ‘भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ वडाबाटै सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ,सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई , सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ,जति सक्यो छिट्टै वडामै फर्केर सेवा दिनुहोस् ।’ गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो ।
आन्दोलनकै क्रममा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ । सात वटा वडा कार्यालय पूर्ण रूपमा जलेर खरानी भएका छन् । वडा नम्बर २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्ण रूपमा ध्वस्त भएका हुन् भने वडा नम्बर १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ । यस घटनाले नगरपालिकाको प्रशासनिक संरचनामै ठुलो धक्का पुर्याएको भए पनि मुख्यमन्त्री कँडेलले कठिन समयमा पनि जनताले पाउने सेवा–सुविधा जनताकै घर आँगनबाटै दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए।