काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज, आश्विन शुक्ल चतुर्थी तिथिमा नवदुर्गामध्येकी चौथो स्वरूप कुष्माण्डा देवीको विशेष पूजाआराधना गरिँदैछ। देशभरका दसैँघर तथा पूजाकोठाहरूमा विधिपूर्वक पूजा भइरहेको छ। ‘कु’ अर्थात् ‘कुत्सित’ ऊष्मालाई ‘कुष्मा’ भनिन्छ, जसले त्रिविध ताप (आध्यात्मिक, आधिभौतिक र आधिदैविक) लाई जनाउँछ।
यी तीनै तापयुक्त संसारलाई आफ्नो अण्ड अर्थात् गर्भमा धारण गर्ने देवी नै कुष्माण्डा हुन्। श्री दुर्गा सप्तशतीको देवीकवचमा ‘कुत्सितः ऊष्मा कुष्मा-त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ भनी उनको स्वरूपको व्याख्या गरिएको छ। आफ्ना भक्तहरूको सबै ताप हरण गर्ने देवीका रूपमा उहाँको पूजा गरिन्छ।
नवरात्रको पहिलो दिन असोज ६ गते घटस्थापना गरी जमरा राखेसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिएको थियो। यसैगरी, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय विधान छ। यी नौ स्वरूपलाई समग्रमा ‘नवदुर्गा’ भनिन्छ।
नवरात्रभरि प्रत्येक दिन दूर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत जस्ता देवी स्तोत्रहरूको पाठ गर्ने गरिन्छ। देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष भक्तिभावले दुर्गाको पूजा गर्छन् र विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र प्रसाद ग्रहण गरी पन्ध्र दिनसम्म बडादसैँ मनाउँछन्।
यस अवसरमा देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ।विशेषगरी काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी तथा उपत्यकाबाहिरका पलाञ्चोक भगवती, पाल्चोक भगवती, छिन्नमस्ता, गढीमाई, मनकामना, बागलुङ कालिका, विन्ध्यवासिनीलगायतका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।