सुर्खेत । जुम्लामा माइक्रो बसमा यात्रा गरिरहेका युवक मृत फेला परेका छन्। बुधबार राति साढे ८ बजे हिमा गाउँपालिका-१, आर्चाय गाउँका २२ वर्षीय गणेश रावत गुडिरहेको गाडीभित्रै मृत अवस्थामा फेला परेका हुन् । ती युवक मुगुबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ११८०० एसएलएम गाडीमा यात्रा गरिरहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।
घरमा ओर्लिनुपर्ने बेलामा हेर्दा युवक मृत भेटिएको जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले बताए। उनले भने, ‘गाडी मुगुबाट सुर्खेत जाँदै रहेछ। गाडी सानो भएकाले धेरै जनाले यात्रा गरिरनुभएको भन्ने बुझिएको छ। मृतकले मादक पदार्थ सेवन गरेका रहेछन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
युवकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ। डीएसपी रेग्मीले मेडिकल रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा पाइने बताएका छन्।