समाचार सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा १० लाख रुपैयाँको तुलसी वेसहारा सहयोग अक्षयकोष स्थापना गरिएको छ।
- अक्षयकोष स्थापना गरी गरिब, विपन्न र वेसहारा नागरिकको उत्थानका लागि सहयोग गर्ने उद्देश्य राखिएको छ।
- जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले संस्थाको सेवा कार्यको प्रशंसा गरे।
- संस्थाको नाम परिमार्जन गरी अब ‘तुलसी सेवा केन्द्र नेपाल’ राखिएको छ।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दश लाख रुपैयाँको तुलसी वेसहारा सहयोग अक्षयकोष स्थापना गरिएको छ। गरिब, विपन्न तथा वेसहारा नागरिकहरूको उत्थानका लागि सो अक्षयकोष स्थापना गरिएको हो। शनिबार तुलसी सेवा फाउण्डेशन, सुर्खेतको चौथो वार्षिक साधारण सभाको अवसरमा उक्त अक्षयकोष स्थापना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले तुलसी सेवा फाउण्डेशनले विपन्न र असहाय समुदायको सेवामा निरन्तर योगदान पुर्याउँदै आएको भन्दै सराहना गरे। मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति पदमलाल देवकोटाले निःस्वार्थ समाजसेवा सबैभन्दा महान कार्य भएको उल्लेख गर्दै फाउण्डेशनको प्रयास प्रशंसनीय रहेको बताए।
कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै ८ लाख ९३ हजार ५ सय ३७ रुपैयाँको आयव्यय सार्वजनिक गरिएको संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्माले जानकारी दिए। सोही अवसरमा संस्थाको नाम संशोधन गरी ‘तुलसी सेवा केन्द्र नेपाल’ राखिएको पनि घोषणा गरिएको छ।
सभामा १ सय ५० जना विपन्न बालबालिकालाई स्कुल ड्रेस र कापीकलम वितरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता अध्यक्ष रगवीर विश्वकर्माले गरेका थिए भने सञ्चालन सचिव धनबहादुर चुनाराले गरेका थिए।