समाचार सारांश
- सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटस्थित नेतृ शान्ता चौधरीको अचार पसलमा आगलागी भएकाे छ ।
- आगलागीबाट ३० लाख रुपैयाँभन्दा बढी क्षति भएको प्रहरीको अनुमान छ ।
- पसल तीन दिनअघि मात्रै नेतृ चौधरीले उद्घाटन गरेकी थिइन्।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटस्थित नेकपा (एमाले) नेतृ शान्ता चौधरीको अचार पसलमा आइतबार बिहान आगजनी भएको छ। बिहान करिब ३ बजे भएको आगलागीबाट पसलमा ३० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ। तीन दिनअघि (शुक्रबार) नेतृ चौधरी स्वयं उपस्थित भई उक्त अचार पसलको उद्घाटन गरिएको थियो।
आगलागीपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न माग गरेकी छन्। ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ,’ भन्दै उनले अपराधि पत्ता लगाई कारबाही गर्न नेपाल प्रहरीलाई आग्रह गरेकी छन्।
यस्तै, चौधरीको पसलसँगै रहेको एमाले सुर्खेत जिल्ला कमिटी सदस्यको फेन्सी पसलमा पनि आगजनी भएको छ। दुई पसलमा एकैपटक आगलागी भएकाले घटना शंकास्पद हुनसक्ने नेतृ चौधरीको भनाइ छ। तर प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले विद्युत् सर्ट भएको वा उद्योगभित्रैबाट आगो लागेको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
