२०८२ मंसिर १९ , शुक्रबार
एमाले महाधिवेशन

कर्णालीमा प्रतिनिधि छनौटको सकस : कतै सर्वसम्मत, कतै मतदान

‘हामीले सबै जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट गर्ने प्रयास गरेका थियौँ । तर पनि रुकुम पश्चिममा निर्वाचन गर्नैपर्ने अवस्था आयो ।,’ उनले भने, ‘हाम्रा साथीहरुले अन्य ठाउँमा पनि छलफलमा जुटिरहनुभएको छ ।,’


समाचार सारांश
Generated Using AI
  • एमालेको ११औँ महाधिवेशनका लागि कर्णाली प्रदेशमा प्रतिनिधि छनोट प्रक्रिया सकसपूर्ण।
  • १० जिल्लामध्ये जाजरकोट, जुम्ला र सल्यानमा मात्र प्रतिनिधि सर्वसम्मत चयन।
  • कर्णाली प्रदेशमा करिब ४७ हजार संगठित सदस्य, त्यसमध्ये ११५–१२० प्रतिनिधि महाधिवेशनमा जाने।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि कर्णाली प्रदेशमा प्रतिनिधि छनोट प्रक्रिया सकसपूर्ण भइरहेको छ। राति ९ बजेसम्मको विवरण अनुसार प्रदेशका १० जिल्लामध्ये तीन जिल्लामा मात्र सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन् भने सात जिल्लाको नतिजा आउन बाँकी छ। एमाले कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष टकेराज पछाईका अनुसार जाजरकोट, जुम्ला र सल्यानमा मात्र सर्वसम्मत प्रतिनिधि छनोट सम्पन्न भएको छ।

उनका अनुसार बाँकी जिल्लामा सहमति जुटाउन अझै पनि संवाद र छलफल जारी छ। ‘हामीले सबै जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट गर्ने प्रयास गरेका थियौँ । तर पनि रुकुम पश्चिममा निर्वाचन गर्नैपर्ने अवस्था आयो ।,’ उनले भने, ‘हाम्रा साथीहरुले अन्य ठाउँमा पनि छलफलमा जुटिरहनुभएको छ ।,’

यी जिल्लामा सर्वसम्मत
एमालेको ११औँ महाधिवेशनका लागि जाजरकोट जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत रूपमा गरिएको छ । सबै क्लस्टर तथा कोटाबाट सहमतिका आधारमा प्रतिनिधि चयन भएपछि जिल्लामा पार्टी एकताको सकारात्मक सन्देश गएको कार्यकर्ताहरूले बताएका छन् । सर्वसम्मत निर्णयअनुसार खुला समूहबाट नारायण घर्ती, करवीर शाही, नरेन्द्र शाही, लालबहादुर महतरा र प्रेम सिंह चयन भएका छन्। त्यस्तै, महिला समूहबाट सुनिता बोहरा, तारा शाक्य र कुमारी थापा तथा दलित समूहबाट गोपाल नेपाली, नवीन्द्र नेपाली र कौशिला कामी प्रतिनिधि तोकिएका छन् ।

युवातर्फ विश्व विक्रम शाहलाई महाधिवेशन प्रतिनिधि मनोनयन गरिएको छ । यस्तै सुर्खेत क्षेत्र नम्बर २ बाट महाधिवेशनका लागि ९ जना सर्वसम्मत छनोट भएका छन् । ५ जना खुलातर्फबाट छनोट हुँदा ३ जना महिला कलस्टरबाट छनोट भएका निर्वाचन कमिटी संयोजक नन्दबहादुर भण्डारीले बताए । त्यस्तै १ जना युवा कलस्टरबाट छनोट भएका छन् । कुलमणि देवकोटा, मोहनसिंह बडुवाल,डम्बर तिवारी,पूर्ण प्रसाद पौडेल र भीम बहादुर राउत खुलाबाट छनोट भएका छन् ।

टिका कुमारी अधिकारी,टिका कुमारी घले गुरुङ र निर्मला रानामगर महिला कलस्टरबाट छनोट भएका छन् भने प्रेम खड्का युवा कलस्टरबाट छनोट भएका छन् । यस्तै जुम्लामा पनि सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् । एमाले प्रदेश इन्चार्ज गोरख बोगटीका अनुसार जुम्लाबाट ६ जना प्रतिनिधिहरू चयन भएका हुन् । खुलातर्फ शान्तिलाल महत र देविलाल थापा चयन हुँदा महिलातर्फ शान्ता शाही र मेनका पछाई चयन भएका छन् ।

त्यस्तै युवातर्फ धिरज जैसी र दलिततर्फ रामबहादुर नेपाली सर्वसम्मत रूपमा चयन भएका बोगटीले बताए । यस्तै सल्यानमा पनि सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् । जसमा खुल्लातर्फ भिम वहादुर सेन, ओज बहादुर बुढाथोकी, लाल वहादुर रावत र घनश्याम शर्मा रहेका छन् भने महिला तर्फ पुष्पा कुमारी बुढाथोकी, सनसिल्ला वली (डि.सी), युवातर्फ, गणेशमान सिंह रहेका छन् ।

यस्तै दलिततर्फ भिउसेन नेपाली सर्वसम्मत रूपमा चयन भएका छन् । हिमाली जिल्ला डोल्पाबाट पनि महाधिवेशनका लागि ८ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशनको लागि डोल्पाको काइके गाउँपालिकाबाट कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री शेर बहादुर बुढा, मुड्केचुला गाउँपालिकाबाट जिल्ला पार्टी अध्यक्ष समेत रहेका लंक बहादुर रोकाया चयन भएका छन् ।

यस्तै गोपाल वि.क, त्रिपुरासुन्दरी नगरपालिकाबाट चन्द्रा कुमारी बुढा, बिश्वचन्द्र डसाल, शे(फोक्सुण्डो गाउँपालिकाबाट धावासम्दुक गुरुङ, जगदुल्ला गाउँपालिकाबाट जिल्ला पार्टी उपसचिव समेत रहेकी जुनी बुढा र ठुलीभेरी नगरपालिकाबाट नन्दसिंह बुढालाई जिल्ला कमिटीले केन्द्रीय प्रतिनिधिको लागि सर्वसम्मत सिफारिस गरिएको नेकपा एमाले डोल्पाका पार्टी अध्यक्ष लंक रोकायले बताए ।

रुकुम पश्चिममा मतदान
महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान भएको छ । साझँ ६ बजेसम्मको जानकारी अनुसार प्रतिनिधि छनौटका लागि मतदान चलिरहेको थियो । सहमति जुट्न नसकेपछि निर्वाचनबाट महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सुरु भएको नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिए । उनकाअनुसार ६ जना प्रतिनिधिका लागि ११ जना प्रतिस्पर्धामा रहेका छन् ।

२ जना खुला, २ जना महिला, १ जना दलित, १ जना युवा अन्तर्गत खुलामा ३ जना, महिलामा ४ जना, दलितमा २ जना, युवामा २ जना प्रतिस्पर्धामा रहेको अध्यक्ष देवकोटाले बताए । ५ सय बढी क्रियाशील सदस्यले मतदान गर्न पाउने उनको भनाइ छ । यहाँ मुख्य प्रतिनिधि (खुल्ला) तर्फ नन्दराम देवकोटा, टंक ओली र दिनेश चन्द्रबीच प्रतिस्पर्धा भइरहेको छ ।

आकाङ्क्षीहरूको व्यवस्थापन हुन नसक्दा लोकतान्त्रिक विधि (निर्वाचन) गर्न थालिएको हो । ‎कर्णालीबाट ११५ देखि १२० जना प्रतिनिधि छनोट हुने छन् । यहाँ एमालेका ४७ हजार संगठित सदस्य छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन २७–२९ मंसिरसम्म भक्तपुरको सल्लाघारीमा हुने तय भएको छ । नीति र विधि निर्माणको काम २०–२२ भदौसम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनबाट भइसकेकाले यस महाधिवेशनले नेतृत्व चयनको काम गर्नेछ । महाधिवेशनमा २ हजार ३०० सयको हाराहारीमा प्रतिनिधिहरूले भाग लिने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १३ गते शनिबार