
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै उनले लिखित रूपमा राजीनामा बुझाएका हुन् । शर्माले राजीनामा पत्रमा आफ्नो निर्णयबारे उल्लेख गर्दै भनेका छन्, “उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।”
हालै तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरू एकीकृत हुँदै नयाँ नेकपा गठन भएपछि आन्तरिक शक्ति सन्तुलनमा परिवर्तन आएको छ। नवगठित पार्टीभित्र जनार्दन शर्माको पक्षधर देखिएका पूर्वमुख्यमन्त्री शर्माले त्यसैको प्रभावस्वरूप दलका नेताबाट राजीनामा दिएका हुन् । शर्माले राजीनामा स्वीकृत भएसँगै उनलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्ने गरी कारबाही सिफारिस गरिएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार दलको बुधवार बसेको बैठकले शर्मालाई प्रदेशसभा सदस्यबाट हटाउन पार्टी केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय समते गरेको छ । ‘जिसीले भने, ‘प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय भएको छ ।,’ शर्माले संसदीय दलको नेताबाट दिएको राजीनामा स्वीकृत भइसकेको पनि उनले जानकारी दिए ।
यस्तै, शर्माको राजीनामापछि नयाँ पदाधिकारी चयन नहुञ्जेल दलको एकीकरणसम्बन्धी निर्णय, आवश्यक समन्वय र नियमित काम–कारबाही सञ्चालन गर्ने जिम्मेवारी प्रमुख सचेतक जिसीलाई नै तोकिएको छ । माओवादी स्रोतका अनुसार जिसीलाई सामान्य जिम्मेवारी मात्रै दिइएको हो । ‘हामीले अर्काे नेता चुन्नेबेला सम्मका लागि समन्वयको सामान्य जिम्मेवारी मात्रै दिएका हौ ।’ स्रोतले भन्यो, ‘उहाँले पुरै जिम्मा पाउनु भएको होइन ।,’
अब को बन्ला दलको नेता ?
शर्माले राजीनामा दिएसँगै कर्णालीमा माओवादी केन्द्र (हाल नेकपा) संसदीय दलको नयाँ नेता चयनका लागि व्यापक छलफल बुधवार सुरु भएको पुर्व भौतिक तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले बताए । उनका अनुसार अनुसार दलको नेता बन्न धेरै आकांक्षी देखिएका छन् । यता संसदीय दलको नेताका लागि दाबी गर्ने नेताहरूमा ५ जना भन्दा बढी रहेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार हाल नेकपा माओवादी संसदीय दलका प्रमूख सचेतक एवम् पूर्व मन्त्री कृष्ण जिसी, नेकपा माओवादीका केन्द्रीय सदस्यहरु एवम् पूर्व मन्त्रीहरु विन्दमान विष्ट, मंगल शाही, महेन्द्र केसी र भीम प्रकाश शर्माको सशक्त दाबी रहेको छ । ‘उहाँहरु तीन जना केन्द्रीय सदस्य हुनुहुन्छ भने हाल प्रमूख सचेतक रहेका जिसीको पनि दावी रहेको छ ।’
माओवादी स्रोत भन्छ, ‘यसअघि पनि जिसी, विष्ट र शाहीले दलको नेतामा दावी गर्नु भएको थियो । त्यतिबेला जर्नादन शर्माको हस्तक्षेपका कारण उहाँहरु रोकिनु परेको थियो ।,’ स्रोतका अनुसार दलको नेता हुने पहिलो सम्भावना महेन्द्र केसी रहेका छन् । राज कुमारलाई काउन्टर दिन महेन्द्रलाईं नै बनाउने सम्भावना रहेको स्रोतको दाबी छ । स्रोेतका अनुसार बैठकमा अबको एक महिना भित्रै दलको नेता चयन गर्नुपर्ने माग उठेको छ । यस्तै हाल प्रमुख सचेतकको पद पनि रिक्त रहेको छ।