२०८२ माघ ७ , बुधबार

चुनावी मैदानमा एक्लै उत्रिएर श्रम संस्कृति पार्टीले बहुमत ल्याउँछ : सहमहासचिव तामाङ



सुर्खेत । श्रम संस्कृति पार्टीका केन्द्रीय सहमहासचिव समीर तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। बुधवार श्रम संस्कृति पार्टी कर्णाली प्रदेश समिति तथा जिल्ला तदर्थ समितिले सुर्खेतमा आयोजना गरेको केन्द्रीय टिमसँगको भेटघाट तथा छलफल कार्यक्रममा सहभागी हुन आएका तामाङले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एक्लै चुनावी मैदानमा उत्रिएर बहुमत हासिल गर्ने बताए।

उनका अनुसार पार्टीले प्रतिनिधिसभा निर्वाचनमा १६५ प्रत्यक्ष र ११० समानुपातिक उम्मेदवार उठाउने तयारी गरेको छ। सहमहासचिव तामाङले वैकल्पिक भनिएका राजनीतिक शक्तिहरूको आपसी झगडाबाट जनता आजित भइसकेको उल्लेख गर्दै आगामी चुनावमा जनताले श्रम संस्कृति पार्टीलाई बहुमत दिने विश्वास व्यक्त गरे। उनले पुराना तथा केही वैकल्पिक शक्तिहरूको गठबन्धनले देशलाई द्वन्द्वतर्फ लैजाने प्रयास गरिरहेको आरोप लगाउँदै ती गठबन्धनहरू प्रतिशोध र एक–अर्कालाई सिध्याउने प्रवृत्तिमा केन्द्रित रहेको टिप्पणी गरे।

‘श्रमलाई सम्मान गर्नुपर्छ र श्रमकै आधारमा कुनै पनि किसिमको विभेद हुनुहुँदैन भन्ने हाम्रो मूल उद्देश्य हो,’ तामाङले भने, ‘देशलाई चाहिने श्रम र संस्कृतिलाई अगाडि बढाउने पार्टी नै श्रम संस्कृति पार्टी हो।’ कर्णाली भ्रमणका क्रममा स्थानीय किसान, मजदुर, व्यवसायी र श्रमिकहरूसँग भेटघाट भएको उल्लेख गर्दै उनले बाटो–बाटोमा जनताले ‘हामीलाई चाहिएको पार्टी श्रम पार्टी नै हो’ भन्ने प्रतिक्रिया दिएको दाबी गरे। यसले पार्टीले बहुमत ल्याउने विश्वास अझ बलियो भएको उनको भनाइ छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप कर्णाली र सुदूरपश्चिमका नागरिकलाई सक्रिय रूपमा राजनीतिमा सहभागी गराउने अभियानमा पार्टी लागेको तामाङले बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्दर्भमा बोल्दै उनले रवि लामिछाने र बालेन शाहसँग सहकार्यका विषयमा सुरुमा एकताको कुरा भए पनि उनीहरू पुनः पुरानै राजनीतिक धारसँग मिसिएपछि एकता सम्भव नभएको बताए।

श्रम संस्कृति पार्टी आफ्नै मार्गदर्शन र भिजनका साथ अघि बढिरहेको उल्लेख गर्दै तामाङले सत्ता र कुर्सीभन्दा श्रमदानलाई प्राथमिकता दिने मान्यता पार्टीको रहेको बताए। ‘हामीलाई झण्डा होइन, श्रमका औजार चाहिन्छ। देश बनाउन भाषण मात्र होइन, श्रमदान पनि आवश्यक छ,’ उनले भने। केन्द्रमा को कोसँग मिल्यो भन्नेमा आफ्नो पार्टीको चासो नभएको बताउँदै आफूहरु जनतासँग मिल्न आएको बताए।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार