
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्वरूप परिवर्तन (मोडिफाइ) गरी तीव्र गतिमा चलाउँदै ध्वनि प्रदूषण गर्ने ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोटरसाइकल मोडिफाइ गरी अत्यधिक आवाज निकाल्ने तथा शान्ति, सुरक्षा भंग हुने गरी सवारी सञ्चालन भइरहेको भन्ने विभिन्न जनगुनासो प्राप्त भएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो।
सोही क्रममा ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई पहिलेकै अवस्थामा फर्काउन लगाइने छ। साथै, प्रचलित कानुनअनुसार यस्ता सवारीधनीलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको उनले बताए।
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार