
सुर्खेत २२ असोज
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पुन लकडाउन हुन सक्ने संकेत देखिएको छ ।
तिव्र रुपमा कोरोना संक्रमित बढेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फेरी लकडाउन गर्न सक्ने तर्फ संकेत गरेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले जिल्लाका अन्य पालिकाहरुको तुलनामा वीरेन्द्रनगरमा बढी संक्रमित भएको पाइएको छ ।
संक्रमितको संख्या बढ्दै गए फेरी लकडाउन गर्न सकिने मनस्थितिमा स्थानीय प्रशासन र नगरपालिका पुगेको हो । वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले तीजमा अपनाइएको विधि नै अपनाउने कि भन्ने छलफल भएको बताईन् ।
लकडाउन कहिलेबाट गर्ने र कति दिन गर्ने भन्ने निर्णय भइनसकेको भन्दै ढकालले दशैँमा आफन्त–आफन्तहरुबिच सम्पर्क बढ्ने र त्यसले स्थिति भयावह हुनेतर्फ आफुहरु सचेत रहेको बताईन् । दशैँ आउन अझै केही दिन बाँकी रहेकाले घटस्थापनासम्मको संक्रमण दरलाई औल्याएर लकडाउन गर्न सकिने उनको भनाई छ ।
यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने संक्रमणको दर बढेपनि तत्कालै लकडाउन नै गर्नुपर्छ भन्ने निर्णयमा नपुगेको बताएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पालिकाहरुले गर्ने निर्णयमा स्थानीय प्रशासनले पूर्ण सहयोग गर्ने बताए ।

कर्णालीमा थप ६९ जनामा कोरोना संक्रमण
कर्णालीमा थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेत, दैलेख अस्पताल दैलेख र चौरजहारी पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणका क्रममा बिहीबार थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार ३७ जना पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुर्खेतका ५४ जना, दैलेखका ५, डोल्पाका २ जना, रुकुम पश्चिम र जुम्लाका १÷१ जना र अन्य प्रदेशका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप ४४ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार २ सय २९ पुगेको छ । बिहीबारसम्ममा कर्णाली प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७ सय २ जना रहेको मन्त्रालयले जनाएको छ ।

देश भर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुग्यो
यस्तै देशभर कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । गएको २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन अहिले सम्मकै उच्च हो ।
पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको नमुना परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको हो । त्यस्तै बिहीबार देशभर २ हजार ६ सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।