
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि आफ्ना नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउने प्रक्रिया सुरु गरेको छ। यस क्रममा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निश्चित भएको छ। उक्त जानकारी वाग्ले स्वयंले दिएका हुन्।
डा. वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजकसमेत रहेका छन्। शनिबार बसेको समितिको बैठकले समितिका अन्य सदस्य शिशिर खनाल र सोविता गौतमको निर्वाचन क्षेत्र पनि टुंगो लगाएको छ। बैठकको निर्णयअनुसार खनाल यसअघि निर्वाचित भएको काठमाडौं–६ बाट पुनः उम्मेदवार बन्नेछन् भने गौतम चितवन–३ बाट निर्वाचन लड्नेछिन्।
गौतम यसअघि काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन्। संयोजक वाग्लेका अनुसार हालसम्म समितिले १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस गरी पार्टी सचिवालयमा नाम पठाइसकेको छ। हिमाली र पहाडी जिल्लाका उम्मेदवारको टुंगो आइतबार बिहानै लाग्ने र सोही समयमा टिकट वितरण गरिने उनले बताए।
सुगम तथा शहरी क्षेत्रका उम्मेदवारलाई भने आइतबार साँझसम्म टिकट वितरण गरिने कार्यतालिका रहेको छ। वाग्लेका अनुसार यसअघि सांसद भइसकेका तथा प्रदेश सभापति स्वतः उम्मेदवार बन्ने व्यवस्था गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपामा करिब ७ सय ५० जनाले उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका छन्।